बिहीबार, वैशाख १३, २०८१
04:30 | ०९:१५

बाइडेन भन्छन्, ‘मेरो शपथग्रहणमा ट्रम्प नआएकै राम्रो’

नेपाली लिङ्क जनवरी ८, २०२१


न्यूयोर्क। नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो शपथग्रहण समारोहमा डोनाल्ड ट्रम्प नआएकै राम्रो हुने बताएका छन् । जनवरी २० को शपथग्रहणमा नआउने ट्रम्पको निर्णय एकदम राम्रो भएको र आफूले पनि उनको उपस्थिति नचाहेको बाइडेनले बताएका छन् ।

बाइडेनले भने -‘शपथग्रहण समारोहमा उपस्थित नहुने संकेत गरेको कुरा मलाई पनि जानकारी गराइएको थियो । उनी शपथग्रहणमा देखा नपरेको एकदमै राम्रो हो । यसमा उनको र मेरो कुरा मिल्यो । उनी देश र विश्वकै लागि लज्जा हुन् ।’

डोनाल्ड ट्रम्पमात्र नभएर उनकी पत्नी मेलानिया ट्रम्प पनि शपथग्रहण समारोहमा उपस्थित नहुने जनाइएको छ । समारोहमा उपराष्ट्रपति माइक पेन्सको उपस्थितिबारे सोध्दा बाइडेनले भने -‘उनलाई स्वागत छ । उनलाई त्यहाँ पाएको खण्डमा म गौरवान्वित हुनेछु ।’

शुक्रबार बिहान डोनाल्ड ट्रम्पले जनवरी २० मा हुने नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको शपथग्रहण समारोहमा नजाने घोषणा गरेका थिए । ट्वीटमार्फत उनले भनेका थिए – ‘जसजसले सोध्नुभएको थियो उहाँहरुलाई जानकारी दिन चाहन्छु कि म जनवरी २० मा हुने शपथग्रहण समारोहमा उपस्थित हुनेछैन ।’

बुधबारसम्म निकै आक्रामक रुपमा प्रस्तुत भइरहेका डोनाल्ड ट्रम्पले चुनावी पराजय, हुलदंगा र कोरोनाबारे आफ्नो धारणामा एकाएक परिवर्तन गरेका छन् । बुधबारसम्म संसद भवनमा हंगामा मच्याउने प्रदर्शनकारीहरुलाई आफूले माया गर्ने भन्दै प्रतिकृया दिएका ट्रम्पले बिहिबार बेलुका हिंसात्मक प्रदर्शनको निन्दा गरे ।

ट्रम्पका कैयन मन्त्रीहरुको राजिनामा, सामाजिक सञ्जालको प्रतिवन्ध, २५ औं संशोधन लगाएर ट्रम्पलाई पदमुक्त गर्नुपर्ने माग लगायतको पृष्ठभूमिमा बिहिबार बेलुका भिडियो वक्तव्य सार्वजनिक गर्दै ट्रम्पले भने – ‘अमेरिका सधै कानुन र व्यवस्थाको राष्ट्र हो र हुनुपर्छ । संसदमा घुसपैठ गर्नेहरुले अमेरिकन लोकतन्त्रको सिट अशुद्ध बनाएका छन् । जो हिंसा र विध्वंसको गतिविधिमा संलग्न भए, तिमीहरुले हाम्रो देशको प्रतिनिधित्व गर्दैनौ । जसले कानून तोडेको छ, तिमीले त्यसको मूल्य चुकाउनुपर्नेछ ।’

बिहीबार व्यक्त उनको अडान र स्थिति परिवर्तनका सन्दर्भमा उल्लेखनीय थियो । हिँसात्मक प्रदर्शनका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरी अधिकारी समेत छन् ।

हिँसात्मक प्रदर्शनपछि कैयन सांसदहरुले ट्रम्पविरुद्ध महाअभियोग लगाउनुपर्ने आव्हान गरेका छन् । उपराष्ट्रपति पेन्समाथि २५ औं संशोधन लगाएर ट्रम्पलाई पदमुक्त गर्नका लागि दबाब समेत बढेको छ । आगामी जनवरी २० मा ट्रम्पको कार्यकाल सकिने भएपनि उनलाई त्यो भन्दा अगाडि नै पदमुक्त गर्नका लागि दबाब बढेको हो ।

ट्रम्पले बिहिबारको भिडियो वक्तव्यमा आफ्नो पराजय स्वीकारेका छन् । उनले भनेका छन् – ‘अब संसदले परिणामलाई प्रमाणिकरण गरिसकेको छ । जनवरी २० मा नयाँ प्रशासनको सुरुवात हुनेछ । अब मेरो ध्यान सहज, निर्वाध र विधिवत शक्ति हस्तान्तरणमा छ । यो क्षणले उपचार र मेलमिलापको आव्हान गर्दछ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू