बिहीबार, वैशाख १३, २०८१
10:39 | १५:२४

बेलायतले दियो कोभिडविरुद्धको तेस्रो खोपलाई मान्यता

अमेरिकी कम्पनीद्धारा निर्मित खोप बेलायतमा मान्यता पाउने तेस्रो

नेपाली लिङ्क जनवरी ८, २०२१


लन्डन । बेलायतले कोरोना भाइरसविरुद्धको एक अर्को खोपलाई मान्यता दिएको छ । ‘मोडर्ना’ नामक अमेरिकी कम्पनीले विकास गरेको खोप बेलायतमा आम प्रयोगका लागि अनुमति पाउने तेस्रो खोप बनेको छ । यसअघि फाइजर-बायोनटेक र अक्सफोर्ड-एक्सट्राजेनेका खोपलाई बेलायतले मान्यता दिएर वितरण पनि शुरु गरिसकेको छ ।

मोडर्ना कम्पनीद्धारा निर्मित खोपले पनि फाइजर-बायोनटेक खोपकै हिसाबले काम गर्ने बताइएको छ । यसअघिका अन्य कोभिड खोपजस्तै मोडर्ना खोपको पनि दुई डोज दिइनुपर्नेछ । तीस हजारमा मानिसमा गरिएको परीक्षणका क्रममा यो खोप ९५ प्रतिशतसम्म प्रभावकारी पाइएको थियो ।

मोडर्ना खोपलाई माइनस २० डिग्री सेल्सियस तापक्रमको सामान्य फ्रिजमा समेत स्टोर गर्न सकिनेछ । फाइजर-बायोनटेक खोप माइनस ७५ डिग्रीको तापक्रममा राख्नुपर्ने हुन्छ । तर अक्सफोर्ड-एक्सट्राजेनोका खोप भने समान्य तापक्रममै राख्न सकिन्छ ।

बेलायतले मोडर्ना खोपको १ करोड ७० लाख डोज अर्डर गरिसकेको छ ।  शुरुमा ७० लाख डोज बुक गरेको बेलायतले पछि थप १ करोड डोजको बुकिङ गरेको थियो । तर यो खोप प्रयोगका लागि उपलब्ध हुन कम्तीमा मार्च महिनासम्म लाग्ने बताइएको छ ।

बेलायतमा हालसम्म फाइजर-बायोनटेक र अक्सफोर्ड-एक्सट्राजेनेका गरी करिब १५ लाख मानिसलाई कोभिड खोपको पहिलो डोज दिइसकिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले मध्य फेब्रुअरीसम्म डेढ करोड मानिसलाई खोप दिइसक्ने प्रतिबद्धता गरेका छन् ।

बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले मोडर्ना खोपले मान्यता पाउनु निकै सुखद भन्दै कोभिडविरुद्धको लडाईंमा अर्को एक प्रभावकारी हतियार उपलब्ध भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू