बेलायत आउँदा कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य
नियम आउँदो सातादेखि लागू हुने


लण्डन । बेलायतले अन्य मुलुकबाट आउने सबै यात्रुलाई कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गर्ने भएको छ ।
बेलायत सरकारका यातायातमन्त्री ग्रयान्ट श्याप्सले हवाई, जल तथा स्थल सबै मार्गबाट बेलायत आउँदा कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने नियम घोषणा गरेका छन् ।
अन्य मुलुकबाट बेलायत प्रवेश गर्ने सबै यात्रु १० दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने हालको नियममाथि कोरोना नेगेटिभ रिपोर्टको नियम पनि थप गर्न लागिएको हो ।
मन्त्री श्याप्सका अनुसार बेलायतका लागि उडानमा बस्नुअघि हरेक यात्रुले पछिल्लो ७२ घण्टाभित्र लिइएको कोरोना परीक्षण रिपोर्ट बुझाउनुपर्नेछ । आयरल्याण्डबाहेक विश्वका अन्य सबै मुलुकबाट आउने यात्रुका लागि यो नियम लागू हुनेछ ।
अहिलेसम्म स्पष्ट दिन नतोकिएपनि आउँदो साताको कुनै एक दिनदेखि नियम कार्यान्वयनमा ल्याइने बताइएको छ । अन्य मुलुकबाट आउने बेलायती नागरिक समेतले कोरोनाको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ ।
अनिवार्य कोरोना परीक्षण रिपोर्टको नियम बेलायतभरकै लागि लागू गर्ने सरकारको योजना छ । जसअनुसार इंग्ल्याण्ड र स्कटल्याण्डले नियम घोषणा गरिसकेका छन् भने वेल्स र नर्दन आयरल्याण्ड पनि घोषणाको तयारीमा छन् ।
मन्त्री श्याप्सले कोरोना परीक्षणको कस्तो रिपोर्ट पेश गर्नुपर्ने भन्नेमा सरकार लचिलो बनेको बताएका छन् । उनका अनुसार बेलायतको ‘एनएचएस स्टयान्डर्ड’ को पिसिआर रिपोर्टका अलावा ल्याटरल ‘फ्लो टेस्ट’ र ‘लुप मेडिएटेड इसोथर्मल एम्प्लिकेसन’ (ल्याम्प) टेस्टलाई पनि मान्यता दिइनेछ । पिसिआरबाहेकका यी अरु दुई खालका परीक्षण तत्काल विमानस्थलहरुमा पनि गराउन सकिनेछ ।
अनिवार्य कोरोना परीक्षण रिपोर्टको नियम अवज्ञा गर्ने यात्रुलाई ५ सय पाउण्डको जरिवाना समेत गर्ने घोषणा गरिसकिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५