शुक्रबार, चैत १६, २०८०
07:16 | १३:०१

बेलायतमा कोरोना नियन्त्रणबाहिर: एक दिनमै ११६२ को मृत्यु

मृतक संख्यामा बेलायत विश्वमै पाँचौं स्थानमा

नेपाली लिङ्क जनवरी ७, २०२१

लन्डन  । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या गत वर्ष अप्रिलयताकै उच्च भएको छ । पछिल्लो २४ घण्टामा एक हजार १६२ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या ७८ हजार ५०८ पुगेको छ । मृतक संख्याको आधारमा बेलायत आजबाट विश्वमा पाँचौं स्थानमा पुगेको छ । यसअघि बेलायत युरोपियन मुलुक इटालीभन्दा पछाडी रहँदै आएको थियो ।

यसैगरी पछिल्लो २४ घण्टामा बेलायतमा ५२ हजार ६१८ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा संक्रमित संख्या  हालसम्म २८ लाख ८९ हजार ४१९ पुगेको छ ।

बेलायतमा विगत एकहप्तादेखि दैनिक संक्रमितको संख्या ५० हजारमाथि  रहँदै आएको छ । जुन संख्या बेलायतमा महामारी शुरु भएयाताकै सबैभन्दा बढी हो ।

गएको २४ घण्टामा तीन हजार छ सय जना संक्रमित अस्पताल भर्ना भएका छन् भने तीस हजार भन्दा बढी कोरोना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ । यो संख्या कोरोना महामारीको पहिलो चरणमा भन्दा अत्याधिक बढी हो  ।

कोरोनाभाइरस संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएका कारण अस्पतालको बेड व्यवस्थापनमा कठिनाई भएको बताइएको छ । कोरोना  संक्रमण दर बढेसंगै कोरोनाविरुद्धको भ्याक्सिनलाई पनि तीव्रता दिइएको छ ।

हाल बेलायतमा फाइजर-बायोएनटेक र अक्सफोर्डको भ्याक्सिन वितरण भइरहेको छ । हालसम्म १२ लाख ९६ हजार ४३२ जनालाई कोरोना भ्याक्सिनको पहिलो डोज दिइसकेको स्वास्थ्य विभागले जनाएको छ । जसमध्ये २१ हजार ३१३ जनालाई भ्याक्सिनको दोस्रो डोज पनि दिइसकिएको छ ।

यो पनि पढौं: संक्रमित बढेपछि बेलायतका अस्पतालमा बेड व्यवस्थापनमा कठिनाई 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू