शुक्रबार, वैशाख १४, २०८१
08:46 | १३:३१

पासा पुचः साउथ इष्ट लण्डन नयाँ कार्यसमिति निर्वाचनको तयारीमा

नेपाली लिङ्क जनवरी ७, २०२१


लण्डन । पासा पुचः गुठीको साउथ इष्ट लण्डन शाखा नयाँ नेतृत्व चयनको तयारीमा जुटेको छ ।

यही जनवरी २४ तारिख आइतबार भर्चुअल माध्यमबाट गर्न लागिएको अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्ने संस्थाका अध्यक्ष सुशिल प्रजापतिले जानकारी दिए ।

नयाँ कार्यसमिति चयनका लागि गठित निर्वाचन समितिले निर्वाचनको कार्यतालिका प्रकाशित गरिसकेको छ । जसअनुसार जनवरी १५ तारिख साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय दिइएको छ । १६ देखि १८ तारिख साँझ ५ बजेसम्म उम्मेदवारहरुको नाममा दाबी विरोध तथा १९ देखि २१ तारिख साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन फिर्ताका लागि समय तोकिएको छ । अधिवेशनको अघिल्लो दिन जनवरी २३ तारिखमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

नयाँ नेतृत्वको निर्वाचनमा मताधिकार संस्थाका आजीवन तथा सक्रिय सदस्यहरुलाई रहनेछ । जनवरी २३ तारिखभित्र नयाँ सदस्यता लिने तथा पुरानो सदस्यता नवीकरण गराउने सदस्य पनि मत दिन पाउनेछन् ।

कार्यसमितिको अध्यक्ष पदमा उम्मेदवार बन्नको लागि यसअघि कार्यसमितिमा रहेर उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष वा सांस्कृतिक सचिवमध्ये कुनै एक पदमा रहेर दुई वर्ष काम गरेको हुनुपर्नेछ । उपाध्यक्ष तथा महासचिवका लागि पनि कार्यसमितिका कुनै पनि पदमा रहेर काम गरिसकेको अनुभव हुनुपर्नेछ भने अन्य पदमा संस्थाका सक्रिय सबै सदस्यले उम्मेदवारी दिन पाउनेछन् ।

शाखाको १९ सदस्यीय कार्यसमितिमा अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सांस्कृतिक सचिव, सचिव, सहकोषाध्यक्ष, सांस्कृतिक सहसचिव र ८ सदस्य निर्वाचित हुनेछन् । उम्मेदवारी मनोनयनका लागि अध्यक्षमा १ सय पाउण्ड, उपाध्यक्षमा ७५ पाउण्ड, महासचिवमा ६० पाउण्ड, कोषाध्यक्ष र सांस्कृतिक सचिवमा ५० पाउण्ड, सचिव, सहकोषाध्यक्ष र सांस्कृतिक सहसचिवमा ४० पाउण्ड तथा सदस्यमा २५ पाउण्डको मनोनयन शुल्क लाग्नेछ ।

शाखाका संस्थापक अध्यक्ष कुमार श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समितिमा पूर्व अध्यक्षहरु चुत्रबहादुर श्रेष्ठ र मनिष श्रेष्ठ सदस्य छन् ।

पासा पुचः साउथ इष्ट लण्डनको दुई कार्यकाल नेतृत्व गरिसकेका वर्तमान कार्यसमितिका अध्यक्ष सुशिल प्रजापतिले यही अधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने भएका छन् ।

फाइल तस्विर: पछिल्लो अधिवेशनमा कार्यसमितिको निर्वाचनपछि

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू