शनिबार, वैशाख १५, २०८१
21:43 | ०२:२८

इंग्ल्याण्डमा हरेक ५० मानिसमध्ये एक जनालाई कोभिड !

नेपाली लिङ्क जनवरी ६, २०२१


लण्डन । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिने क्रम नरोकिएपछि बेलायत अहिले देशव्यापी लकडाउनमा छ । इंग्ल्याण्डमा मंगलबारदेखि तेस्रो चरणको लकडाउन लागू गरिएको छ भने स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्ड पनि अहिले लकडाउनमै छन् ।

बेलायतमा पछिल्लो समय देखिएको नयाँ प्रकृतिको भाइरसका कारण पनि संक्रमण थप तीव्र दरमा बढिरहेको छ । सामान्य कोरोना भाइरसको तुलनामा अहिले देखिएको नयाँ भाइरस कयौं गुणा छिटो फैलिरहेको सरकारी अधिकारीहरुले नै बताउँदै आएका छन् ।

यसैबीच, मंगलबार जारी एक तथ्यांकले बेलायतमा कोरोना भाइरसको संक्रमण निकै डरलाग्दो अवस्थासम्म फैलिसकेको छ भन्ने तथ्य प्रस्तुत गरेको छ । ‘द अफिस फर नेश्नल स्टाटिस्टिक्स’ (ओएनएस) को तथ्यांकअनुसार गतसाता बेलायतमा प्रत्येक ५० जना मानिसमध्ये एकजना संक्रमित थिए ।

यो तथ्यांक जनवरी २ तारिख शनिबारसम्मको एक साताको अवधिको हो । पछिल्लो तथ्यांकको आधारमा इंग्ल्याण्डमा सिंगो जनसंख्याको दुई प्रतिशत संक्रमित भइसकेको पाइएको छ ।

मंगलबार नै जारी तथ्यांकले पनि बेलायतमा कोरोना संक्रमितहरुको संख्या एक दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै बढेको देखाएको छ । मंगलबारसम्मको २४ घण्टाको अवधिमा ६० हजार बढी संक्रमित थपिएका छन् ।

फाइजनर र बायोनटेकद्धारा निर्मित कोरोनाविरुद्धको खोप आम मानिसमा लगाउन शुरु गर्ने संसारकै पहिलो देश बेलायतमा यही सातादेखि अक्सफोर्ड र एक्सट्राजेनेका मिलेर बनाएको अर्को खोप पनि वितरण गर्न शुरु गरिएको छ ।

एकातिर खोप र अर्कोतिर देशव्यापी लकडाउनको सहाराले अहिले नियन्त्रणबाहिर पुगेको संक्रमणलाई नियन्त्रणमा ल्याउने कोशिसमा अहिले बेलायत छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू