शुक्रबार, चैत १६, २०८०
13:32 | १९:१७

माल्टाको संसदमा ‘माल्टा नेपाल संसदीय मैत्री समूह’ स्थापना

नेपाली लिङ्क जनवरी ६, २०२१


लण्डन । गणतन्त्र माल्टाको संसदमा ‘माल्टा नेपाल संसदीय मैत्री समूह’ स्थापना गरिएको छ । नेपाल तथा माल्टाका सार्वभौम संसदहरुबीच संस्थागत सम्बन्ध स्थापना गर्ने उद्देश्यले ‘माल्टा नेपाल संसदीय मैत्री समूह’ स्थापना भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

समूहका माध्यमबाट दुवै मुलुकका संसदका सदस्यहरुबीच भ्रमण, अनुभव तथा विचारको आदानप्रदानमा सहयोग पुग्ने समेत अपेक्षा छ ।

‘माल्टा नेपाल संसदीय मैत्री समूह’ मा गणतन्त्र माल्टाको प्रतिनिधिसभाका सांसदहरु क्रिस फिअर्न, एडवार्ड ज्यामिट लुइस, ग्लेन बेडिङ्फिल्ड, डेभिड एगिएस र रोबर्ट क्युटाजार सदस्य छन् ।

माल्टा समेत हेर्ने बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी र गणतन्त्र माल्टाको प्रतिनिधिसभाका सभामुख एन्जेलो फारुजियाको पहलमा संसदीय मैत्री समूह गठन भएको दूतावासले जनाएको छ ।

माल्टा तथा नेपालबीच सन् १९८३ को सेप्टेम्बर २५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुवै देशबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ ।

यसअघि बेलायतस्थित राजदूत डा सुवेदीकै पहलमा ‘माल्टा नेपाल मैत्री समाज’ एवम् ‘माल्टा नेपाल च्याम्बर अफ कमर्श’ समेत स्थापना भइसकेका छन् ।

दूतावासको वक्तव्य- 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू