बुधबार, वैशाख १२, २०८१
03:38 | ०८:२३

बेलायतका नेपाली स्वास्थ्यकर्मीको अनुभव-कोभिड बिरामीले भरिए अस्पताल

नेपाली लिङ्क जनवरी ५, २०२१

डा. शम्भु आचार्य

लन्डन । बेलायत कोरोना भाइरसको चपेटामा नराम्ररी परेको छ । नयां कोरोना भाइरस भेरियन्ट ५० देखि ७० प्रतिशतसम्म संक्रामक रहेपछि दैनिक संक्रमित संख्या ५० हजार नाघ्न थालेको छ । बेलायतका प्रमुख चिकित्सा सल्लाहकार र एनएचएस इंग्ल्याण्ड मेडिकल डिरेक्टरले देशमा महामारी शुरु भएयताकै पहिलोपटक भाइरस सबैभन्दा उच्च ‘५ अलर्ट’ मा प्रवेश गरेको बताएका छन् ।

बेलायतको लिभरपुल शहरमा कन्सल्टेन्ट एनेस्थेटिष्टका रुपमा कार्यरत डा. शम्भु आचार्यले कोरोना भाइरसको नयां स्वरुप (भेरियन्ट) पहिलेको भाइरसभन्दा ५० देखि ७० प्रतिशत बढी संक्रमण क्षमता भएको पाइएको जनाउंदै गत अप्रिल २०२० मा महामारीको पिकमा करिब १९ हजार बिरामीहरु अस्पतालमा रहेकामा अहिले त्यो संख्या बढेर २७ हजार पुगेको जनाए ।

‘यो संख्या यसरी नै बढेर गए यहांको राष्ट्रिय स्वास्थ्य सेवालाई आउंदो तीन साता निकै चाप पर्न सक्नेछ’, आचार्यले भने, ‘यद्यपि पछिल्लो ९, १० महिनामा चिकित्सा विज्ञानले यो नयां रोगको उपचारमा प्रशस्त विकास र अनुभव बटुलेको छ । साथै बेलायतमा फाइजर बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेका खोप वितरण भइसकेकाले केही महिनामै स्थिति सुधार आउनेमा हामी विश्वस्त छौं ।’

फाइजर-बायोएनटेक खोपको दुवै डोज लिइसकेका आचार्यले आफूलाई कुनै नकारात्मक प्रभाव नपरेको र यो धेरै प्रभावकारी हुनेमा विश्वस्त रहेको पनि बताए ।

बकिङहमसायरमा कार्यरत नर्स अजिता सिम्खडा आफ्नो अस्पताल पनि नराम्रोसंग प्रभावित भएको बताउंछिन् । ‘हाम्रोमा आइसीयू बेड नै खाली छैन् । आइटीयू बिरामीका लागि अप्रेसन थिएटर प्रयोग भइरहेको छ’, सिम्खडाले सुनाइन्, ‘क्यान्सर सर्जरी जस्ता आपतकालिन बाहेकका सेवा रद्द गरिएको छ ।’

संक्रमण बढिरहंदा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इंग्ल्याण्डमा तेश्रो राष्ट्रिय लकडाउन घोषणा गरेका छन् । प्रमुख प्रतिपक्षी दल, आफ्नै मन्त्रिपरिषद सदस्यहरु र युनियनको 
चर्को दवावबीच प्रधानमन्त्री जोन्सनले सोमबार सांझ कोरोना भाइरस नियन्त्रण प्रयासका लागि सोमबार मध्यरातदेखि नै लकडाउन गरिने घोषणा गरेका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू