बेलायतमा तेस्रो देशव्यापी लकडाउनको तयारी


लन्डन । बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढिरहेपछि पुन: राष्ट्रिय लकडाउन गर्ने तयारी भएको छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले आउँदो इष्टरसम्मका लागि थप कडाई आवश्यक देखिएको भन्दै तेस्रो देशव्यापी लकडाउनको जनाउ दिएको बेलायती मिडियाले जनाएका छन् । कोभिडकै विषयमा छलफल गर्न सोमबार दिउंसो प्रधानमन्त्रीको कार्यालयमा बस्ने मन्त्रीपरिषद बैठकले यसबारेमा निर्णय गर्न सक्ने बताइएको छ ।
आज साँझ ८ बजे प्रधानमन्त्री बोरिस जोन्सनले टेलिभिजनमार्फत दिने सम्बोधनमा कोरोना संक्रमण नियन्त्रणका लागि भावी नीतिको बारेमा उल्लेख गर्ने भएका छन् ।
संक्रमण दर नियन्त्रणभन्दा बाहिर गएको भन्दै सरकारलाई देशव्यापी लकडाउन गर्न दबाव बढ्दै गएको छ । विपक्षी लेबर नेता केर स्टार्मरले पनि देशव्यापी रूपमा समान हिसाबले थप प्रतिवन्धहरु लगाउन आग्रह गरेका छन् ।
अहिले इंग्ल्याण्डमा क्षेत्रीय रुपमा प्रतिवन्धहरु लागू छन् । जसअन्तर्गत देशको ७५ प्रतिशतभन्दा बढी क्षेत्रमा सबैभन्दा कडा ‘टिएर ४’ प्रतिवन्धहरु लगाइएको छ । स्कटल्यान्ड, वेल्स र नर्दन आयरल्यान्ड भने लकडाउनमै छन् ।
पछिल्ला दिनमा बेलायतमा दैनिक रुपमा ५० हजारभन्दा बढी संक्रमित थपिंदै गएका छन् । दैनिक संक्रमितको यो संख्या बेलायतमा माहामारी शुरु भएयताकै उच्च हो ।
संक्रमण तीव्र भइरहेका बेला बेलायतमा कोरोनाविरुद्धको खोप अभियानलाई पनि विशेष महत्वका साथ अघि बढाइएको छ । आजैदेखि अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीद्धारा संयुक्त रुपमा निर्मित कोभिड खोपको आम वितरण शुरु गरिएको छ ।
बेलायतले यसअघि नै फाइजर-बायोएनटेकको दश लाख डोज खोप वितरण गरिसकेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५