शनिबार, वैशाख ८, २०८१
07:53 | १२:३८

एनबिसी यूकेमा राज ओझा नेतृत्वको नयाँ टीम

सदस्यता नै मेरो प्रमुख एजेण्डा : संयोजक ओझा

नेपाली लिङ्क जनवरी ३, २०२१

लण्डन । पश्चिम लण्डनमा बसोबासरत नेपालीहरुको संस्था नेप्लिज् कम्युनिटी (एनबिसी) यूकेमा नयाँ नेतृत्व आएको छ ।

आइतबार भर्चुअल रुपमा सम्पन्न ५ औं अधिवेशनले राज ओझाको नेतृत्वमा २५ सदस्यीय सर्वसम्मत कायर्समिति निर्वाचित गरेको छ ।

नयाँ कार्यसमितिमा २५ जना ट्रस्टी निर्वाचित भएका छन् । जसमध्ये ओझा संयोजक, रविन्द्र अधिकारी सचिव र खेमराज जोशीले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।

कार्यसमितिमा निर्वाचित ट्रस्टीहरुमा लेखनाथ घिमिरे, समिरनाथ प्याकुरेल, किरण अधिकारी, कुल सिग्देल, प्रभु न्यौपाने, दिपेन्द्र लामिछाने, दामोदर आचार्य, रामसुन्दर शाह, सञ्जिव घिमिरे र ऋषि खनाल छन् ।

त्यस्तै, सुरज कार्की, चुरामणि रेग्मी, तेजमाया रेग्मी, प्रसुन राना, मुना पौडेल, सुमनचन्द्र गुरुङ, भनबहादुर चन्द, भगवती रानाभाट, वसन्त नेपाल, हरि भण्डारी र डा जगन कार्की पनि ट्रस्टी निर्वाचित भएका छन् ।

निर्वाचन समितिका संयोजक वासु लामिछानेले सर्वसम्मतिमा निर्वाचित नयाँ कार्यसमितिको घोषणा गरेका थिए । नवनिर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्ष रहनेछ ।

अधिवेशनमा निवर्तमान कार्यसमितिका सचिव चुरामणी रेग्मी र कोषाध्यक्ष ऋषि खनालले वार्षिक तथा आर्थिक प्रतिवेदन पेश गरेका थिए । च्यारिटी विभाग संयोजक लेखनाथ घिमिरेले विधान संशाधनको प्रस्ताव प्रस्तुत गरेका थिए ।

संस्थाका निवर्तमान संयोजक मिलन घिमिरे, संस्थापक संयोजक कमल पौडेल, पूर्व संयोजक गंगाबहादुर राना, भगवती रानाभाट लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सदस्यता नै मेरो प्रमुख एजेण्डा: संयोजक ओझा

संस्थाको नेतृत्वमा आएका राज ओझा सन् २०१० मा स्थापित कम्युनिटीका संस्थापक सदस्य हुन् । त्यसपछि उनले दुई कार्यकाल कोषाध्यक्षका रुपमा काम गरेका थिए भने निवर्तमान कार्यसमितिमा युवा तथा खेलकुद संयोजकको भूमिकामा थिए ।

संस्थाको संयोजक निर्वाचित भएपछि नेपाली लिंकसंगको संवादमा ओझाले आफ्नो कार्यकालको प्रमुख एजेण्डा नै संस्थाको सदस्यतासम्बन्धी विषयलाई बनाउने बताए ।

‘संस्था बलियो हुनका लागि सदस्यता नै प्रमुख आधार हो । यो कार्यकालमा सदस्यता बिस्तार गर्नुको साथै सदस्यहरु लाभान्वित हुने खालका कार्यक्रम तथा योजनाहरुलाई नै हामीले पहिलो महत्व दिनेछौं’, उनले भने, ‘संस्थालाई दीर्घ जीवन प्रदान गर्नका लागि कोष र स्रोत नै जरुरी रहन्छ । सदस्यता बिस्तारकै माध्यमबाट कोष र स्रोत अभिवृद्धि गर्ने अरु बाटोहरु पनि खुल्छन् भन्ने मलाई विश्वास छ ।’

स्थापनायताका १० वर्षमा एनबिसी यूके विभिन्न सामाजिक कार्यमा पनि संलग्न हुँदै आएको छ । लण्डनमा कविता कन्सर्ट आयोजना गरी सर्लाहीस्थित द्धन्द्धपीडित बालबालिकालाई सहयोग पठाएको संस्थाले लक्ष्मी प्रतिष्ठानले चितवनमा निर्माण गरेको चेपाङ बस्तीका लागि समेत आर्थिक सहयोग गरेको थियो ।

बेलायतमा संस्थाकै पहलमा बालबालिकाको लागि नेपाली कक्षा र प्रौढहरुका लागि अंग्रेजी कक्षा पनि सञ्चालन हुंदै आएको छ । त्यसबाहेक समुदायका बालबालिका, महिलासहित सबैलाई सहभागी गराउँदै दौड, खेलकुद लगायत कार्यक्रम पनि आयोजना गरिंदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू