शुक्रबार, चैत १६, २०८०
16:01 | २१:४६

बेलायतमा एकसातामा चार हजार बढीको मृत्यु

बेलायतमा मृत्यु हुनेको संख्या ७५ हजार नाघ्यो

नेपाली लिङ्क जनवरी ३, २०२१

लन्डन । आइतबार दिउँसोसम्म बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार नाघेको सरकारी तथ्यांकमा उल्लेख छ ।

डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयरले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थप ४५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

एकसाताभित्र मात्रै चार हजार दुई सय भन्दा बढीको कोरोना संक्रमितको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७५ हजार २४ जना पुगेको छ ।

आइतबार सार्वजनिक हुने मृतक संख्या गतवर्ष अप्रिल पछिकै सबैभन्दा बढी भएको बताइएको छ । सामान्यतया ‘वीकेन्ड’ मा सार्वजनिक गरिने तथ्यांक अन्य दिनहरुको तुलनामा केहि कम हुने गर्दछ ।

यसैगरी कोरोना संक्रमितको संख्या पनि तीव्र रुपमा बढिरहेको छ । पछिल्ला ६ दिनमा संक्रमितको संख्या ५० हजार भन्दा बढी रहँदै आएको छ ।

गएको २४ घन्टामा थप ५४ हजार ९९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिला दिनका संक्रमित संख्या बेलायतमा महामारी शुरु भएयताकै सबैभन्दा बढी हो । बेलायतमा कोरना संक्रमितको संख्या २६ लाख ५४ हजार ७७९ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा दुई हजार  चार सय भन्दा बढी संक्रमित अस्पताल भर्ना भएका छन् । अहिले बेलायतका अस्पतालमा झन्डै २४ हजारको उपचार भइरहेको छ भने एक हजार आठ सयको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा कोरोना संक्रमणको डर तीव्र रुमा बढेसंगै कोरोना विरुद्धको भ्याक्सिनलाई पनि प्राथमिकताकासाथ अघि बढाइएको छ । हालसम्म झन्डै दश लाख मानिसले फाइजर-बायोएनटेकको खोप लगाइसकेका छन् ।

भोलि सोमबारबाट बेलायतकै अक्सफोर्ड विश्वविद्यालयले एष्ट्राजेनेका कम्पनीसँग मिलेर बनाएको कोरोनाविरुद्धको खोप वितरण कार्यको तयारी हुंदैछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू