शुक्रबार, वैशाख १४, २०८१
23:16 | ०४:०१

बेलायतका अस्पतालहरुमा पुग्यो अक्सफोर्डको कोभिड खोप

सोमबारदेखि वितरणको तयारी

नेपाली लिङ्क जनवरी ३, २०२१

लण्डन । बेलायतकै अक्सफोर्ड विश्वविद्यालयले एष्ट्राजेनेका कम्पनीसँग मिलेर बनाएको कोरोनाविरुद्धको खोप यहाँका अस्पतालमा पठाउन थालिएको छ ।

गत बुधबार ‘मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी’ (एमएचआरए) ले यो खोपलाई अनुमति प्रदान गरेपछि सोमबारबाट प्राथमिकताका आधारमा करिब  पांच लाख तीस हजार पहिलो डोज खोप वितरण गरिने भएको छ 

वेष्ट ससेक्सस्थित ‘द प्रिन्सेस रोयल हस्पिटल’ तथा ‘ससेक्स युनिभर्सिटी हस्पिटल’ एनएचएस ट्रष्ट लगायतका अस्पतालमा अक्सफोर्ड-एष्ट्राजेनेकाको खोप शनिबार बिहानै  ढुवानी गरिसकिएको छ ।

बेलायतले ५० मिलियन मानिसका लागि सय मिलियन (१० करोड) डोज अक्सफोर्ड खोप सुरक्षित गरिसकेको छ । अक्सफोर्ड-एस्ट्राजेनेकाद्वारा विकसित खोप फाइजर बायोएनटेकद्वारा विकसित खोपको तुलनामा व्यवस्थापन गर्न सहज हुनुका साथै सामान्य फ्रिजको तापक्रममा पनि भण्डारण गर्न सकिनेछ । अर्को खोपको तुलनामा यो करिब ५ गुणा कम खर्चिलो पनि छ ।

बेलायत सरकारले फाइजर-बायोएनटेकद्वारा विकसित खोपलाई सबैभन्दा पहिला अनुमोदन गरेर हाल प्राथमिकताका आधारमा वितरण गरिरहेको छ । बेलायतमा हालसम्म झन्डै दश लाख मानिसले फाइजरको  खोप लगाइसकेका छन् । बेलायतले दुई  वटा भ्याक्सिनलाई अनुमति प्रदान गरिसकेको छ ।

बेलायतमा पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण दर उल्लेखनीय रुपमा बढ्दै गएको छ । शनिबार सार्वजनिक तथ्यांकअनुसार संक्रमित संख्या अहिलेसम्मकै उच्च छ ।

२४ घण्टामा मात्रै थप ५७ हजार ७ सय २५ जनामा संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । यो संख्या बेलायतमा महामारी शुरु भए यताकै सबैभन्दा बढी हो ।

दैनिक ५० हजारभन्दा बढी संक्रमित भएको यो पाँचौं दिन हो । पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसको नयाँ संस्करण देखा परेपछि संक्रमण दर तीव्र रुपमा बढेको हो । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या पनि २६ लाखको हाराहारीमा पुगेको छ ।

यसैगरी, गएको २४ घन्टामा थप ४४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७४ हजार ५७० पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू