शुक्रबार, वैशाख १४, २०८१
21:20 | ०२:०५

बेलायतमा संक्रमण बढेको बढ्यै, दैनिक संक्रमित हालसम्मकै बढी

'आर नम्बर' १ भन्दा माथि

नेपाली लिङ्क जनवरी २, २०२१


लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमण तीव्र भइरहेका बेला दैनिक संक्रमितको संख्या हालसम्मकै उच्च रेकर्ड भएको छ ।

शनिबार सार्वजनिक तथ्यांकले पछिल्लो २४ घण्टामा मात्रै थप ५७ हजार ७ सय २५ जनामा संक्रमण पुष्टि भएको देखाएको छ । महामारी शुरु भएयता एक दिनकै अवधिमा यति धेरै मानिसमा संक्रमण भेटिएको यो पहिलोपटक हो ।

पछिल्लो २४ घण्टामा ४ लाख २० हजार ४ सय ९२ मानिसमा परीक्षण गरिएको थियो ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को तथ्यांकअनुसार गत २४ घण्टाको अवधिमा ज्यान गुमाउने संक्रमितको संख्या ४ सय ४५ छ । विगत एक सातामा मात्रै ३ लाख ४१ हजार बढी मानिसलाई संक्रमण पुष्टि भएको छ भने ४ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

यससंगै बेलायतमा कोरोना संक्रमित हुनेको जम्मा संख्या २६ लाखको हाराहारीमा पुगेको छ भने संक्रमणपछि मृत्यु हुनेहरु करिव ७५ हजार छन् ।

हालैका दिनमा बेलायतमा देखिएको नयाँ प्रकृतिको कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको छ । संक्रमण दरको मापक मानिने ‘आर नम्बर’ पनि १ दशमलव १ देखि १ दशमलव ३ सम्म रहेको जनाइएको छ । जसको अर्थ एक जना संक्रमितबाट एक भन्दा बढी मानिसमा संक्रमण फैलिरहेको छ ।

फाइजनर-बायोनटेक कम्पनीबाट निर्मित कोभिड खोप आम रुपमा लगाउने पहिलो देश बेलायतले यहाँकै अक्सफोर्ड विश्वविद्यालयबाट निर्मित खोप पनि आउँदो सोमबारदेखि आम रुपमा वितरण गर्दैछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू