बिहीबार, वैशाख १३, २०८१
17:33 | २२:१८

बेलायतमा नयाँ वर्षकै दिन थपिए ५३ हजार बढी संक्रमित

कोरोनाबाट मृत्यु हुनेको संख्या ७४ हजार नाघ्यो

नेपाली लिङ्क जनवरी १, २०२१

लन्डन । अंग्रेजी नयाँ वर्ष २०२१ को पहिलो दिन नै बेलायतमा ५३ हजार भन्दा बढी संक्रमित थपिएका छन् । पछिल्ला केहि दिनमा संक्रमितको संख्या निरन्तर दैनिक ५० हजार भन्दा बढी पुग्ने गरेको छ ।

नयाँ वर्ष लागेकै दिन शुक्रबार ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ५३ हजार २८५ नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या पनि २५ लाख ४२ हजार ६५ पुगेको छ ।

यसैगरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि ७४ हजार नाघेको छ । बितेको २४ घन्टामा थप ६१३ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्ला दुई दिनको तुलनामा मृतक संख्यामा केहि कमी आएको हो । मृतक संख्या बुधबार ९८१ र बिहीबार ९६४ पुगेको थियो ।

हालसम्म बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ हजार १२५ पुगेको छ । पछिल्लो २४ घन्टामा दुई हजार चार सय भन्दा बढी संक्रमित अस्पताल भर्ना भएका छन् भने भेन्टिलेटर बेडमा उपचार गराउनेको संख्या एक हजार ८४७ छ ।

अहिले बेलायतको अस्पतालमा उपचार गराउनेको संख्या झन्डै २४ हजार पुग्न लागेको छ । अस्पताल भर्ना हुनेको संख्या बेलायतमा कोरोना महामारी शुरु भएयताकै सबैभन्दा उच्च हो ।

बेलायतमा हाल कोरोना विरुद्ध फाइजर-बायोएनटेकद्वारा विकसित गरिएको झन्डै दश लाख खोपको पहिलो डोज वितरण गरिसकिएको जानकारी सरकारले दिएको छ ।

आगामी सोमबारबाट अक्सफोर्ड-एष्ट्राजेनेकाद्वारा विकसित खोप पनि वितरणको तयारी छ । सोमबारबाट बेलायतमा दुई कम्पनीद्वारा उत्पादित कोरोना विरुद्धको खोप वितरण हुनेछ ।

सरकारले यसअघि दिएको जानकारी अनुसार जनवरी ४ तारिखबाट दुई हप्ताभित्र करिब बीस लाख मानिसलाई प्रथामिकताको आधारमा खोप दिइने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू