शुक्रबार, वैशाख १४, २०८१
14:18 | १९:०३

बेलायतका नेपाली किशोर किशोरीबीच कोभिड केन्द्रित वक्तृत्वकला प्रतियोगिता

नेपाली लिङ्क जनवरी १, २०२१

प्रतियोगिताका विजयीहरु

लन्डन । सोसाइटी अफ नेपलिज प्रोफेशनल्स् यूकेले बेलायतमा रहेका नेपाली किशोर किशोरीबीच एक वक्तृत्वकला प्रतियोगिता गरेको छ । ३१ डिसेम्बर बिहीबार ‘कोभिड १९ को प्रभाव, यसका चुनौति र अवसरहरु’ विषयक भर्चुअल प्रतियोगिता भएको हो ।

प्रतियोगितामा स्कटल्याण्डवासी अर्जभ पौडेल प्रथम, मनिशा कंडेल (स्कटल्याण्ड) दोस्रो र स्मारिका न्यौपाने (केन्ट) तृतीय भए । विजयी भएकालाई क्रमशः २००, १५० र १०० पाउण्डसहित सर्टिफिकेट प्रदान गरियो ।

बेलायतमा रहेका १३ देखि १९ वर्षसम्मका २७ जना सहभागीले तीन मिनेटभित्र अंग्रेजी र नेपाली भाषामा आफ्नो भनाइ राखेका थिए ।

उक्त प्रतियोगिताको निर्णायकहरुमा सिनियर लेक्चरर डा. विभा सिम्खडा, बीबीसी विश्व संवाददाता नवीनसिंह खड्का र विद्यावारिधिरत युवा नेता एवं एनआरएनए आइसीसी सदस्य भक्त गुरुङ थिए ।

कार्यक्रमका प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायत नेपाल कूटनीतिक सम्बन्धबारे चर्चा गर्दै बेलायत नेपालको सबैभन्दा ठूलो विकास साझेदार भएको बताए । उनले नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहु सांस्कृतिक, सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र र अखण्ड गणतान्त्रिक मुलुक भएको पनि उल्लेख गरे ।

विविधताबीचको एकता नेपालीको विशिष्टता भएको स्मरण गर्दै उनले बेलायतका नेपालीले पनि विविधताको सौन्दर्य र एकता बचाएर राखेको बताए । राजदूत डा. सुवेदीले नेपाली पन र नेपाली मन जोगाउन जोड दिए ।

विशेष अतिथी एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले सहभागी किशोर किशोरी देशको सम्पत्ति भएको जनाउंदै यति सानो उमेरमा पनि उनीहरुले 
प्रस्तुत गरेको क्षमता र ज्ञान, सीपले गर्व महशुस भएको बताइन् । एनआरएनए यूके यस्ता कार्यक्रममा सहकार्य गर्न सदैव तयार रहेको पनि उनले बताइन् ।

कार्यक्रम शुभारम्भ गर्दै संस्थाका अध्यक्ष माधव पराजुलीले कोभिड महामारीका बेला ‘आजका साना कोपिला, भोलिका ठूला कर्णधार’ भनिने किशोर किशोरीको आवाज बुलन्द गर्ने हेतु तथा आ-आफ्नो धारणा प्रस्तुत गर्ने एउटा प्लेटफर्मका लागि वृहत राष्ट्रियस्तरको कार्यक्रम गर्न पाउंदा गर्व लागेको बताए । उनले उक्त कार्यक्रम गर्न सहयोग गर्ने एनआरएनए यूकेलाई धन्यवाद दिंदै भविष्यमा पनि यस्ता रचनात्मक क्रियाकलापतर्फ आफूले ध्यान दिने बताए ।

उक्त कार्यक्रम सञ्चालन नेप्लिज युथ नेटवर्क यूकेकी उपाध्यक्ष श्रीकृत वाग्लेले गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू