शुक्रबार, चैत १६, २०८०
02:00 | ०७:४५

बेलायतमा झन्डै दश लाखले लगाए कोरोना खोप

नेपाली लिङ्क जनवरी १, २०२१

फोटो मिरर

लन्डन । बेलायतमा नयाँ वर्ष शुरु हुनुअघि झन्डै दश लाख मानिसले कोरोना विरुद्धको खोपको पहिलो डोज लगाएका छन् । बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले डिसेम्बर ३१ साँझसम्म नौ लाख ४४ हजार ५३९ ले फाइजर बायोएनटेक भ्याक्सिनको पहिलो डोज लगाएका जानकारी दिए ।

फाइजर बायोएनटेकको भ्याक्सिनलाई बेलायतले सबैभन्दा पहिला आममानिसमा प्रयोगका लागि अनुमति दिएको थियो । बेलायतमा गत डिसेम्बर ८ तारिखबाट फाइजर भ्याक्सिन वितरण शुरु गरिएको थियो ।

९० वर्षीया मार्गरेट किनन अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप लिने पहिलो व्यक्ति भएकी थिइन् ।

एक व्यक्तिको लागि दुईवटा डोज आवश्यक पर्ने उक्त भ्याक्सिनको दोस्रो डोज पनि लगाउन थालिएको छ । बेलायतले मान्यता दिएको तीन हप्तापछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि फाइजर-बायोएनटेक भ्याक्सिनलाई मान्यता प्रदान गरेको छ ।

उता, बेलायतले अक्सफोर्ड-एष्ट्राजेनेकाद्वारा विकसित भ्याक्सिनलाई पनि मान्यता दिइसकेको छ । यससंगै कोरोना विरुद्धको दुईवटा भ्याक्सिनलाई मान्यता दिने बेलायत विश्वको पहिलो मुलुक बनेको छ ।

आउँदो सोमबारबाट फाइजर-बायोएनटेकको खोप वितरण गरिने सरकारले जनाएको छ । दुवै खोप मिलाएर दुई साताभित्र बीस लाख नागरिकहरुलाई प्राथमिकताको आधारमा खोप वितरण गरिने तयारी गरिएको अधिकारीहरुले जनाएका छन् ।

बेलायतमा कोरोना विरुद्धको खोप शुरु भएपनि संक्रमितको संख्या र मृत्युदर तीव्र रुपमा बढ्दै गएको छ । पछिल्ला केहि दिनमा सार्वजनिक सरकारी तथांक अनुसार झन्डै दैनिक एक हजारको हाराहारीमा कोरोना संक्रमितको मृत्यु भएको छ भने ५५ हजार भन्दा बढी संक्रमित थपिने गरेका छन् ।

संक्रमण दर बढ्न थालेपछि बेलायतका अधिकांश क्षेत्रहरुमा कडा प्रतिबन्ध सहितको ‘टीयर ४’ नियम लागू गरिएका छन् ।

‘टीयर ४’ अन्तर्गतका क्षेत्रहरुमा अत्यावश्यकबाहेकका सबै पसल, बार तथा रेष्टुरेन्टहरु बन्द रहनेछन् भने मानिसहरुलाई घरभित्र भेटघाट गर्न समेत प्रतिबन्ध लगाइएको छ । घर बाहिर पनि पार्क तथा बीचमा एकजनासंग मात्र भेट्न पाइनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू