ब्रेक्जिटपछिको नयाँ युगमा बेलायत



फाइल तस्विर
लण्डन । युरोपेली संघबाट बेलायतको बहुप्रतिक्षित बहिर्गमन प्रक्रिया पूरा भएसंगै बेलायत नयाँ युगमा प्रवेश गरेको छ ।
बिहीबार राती ११ बजेदेखि बेलायतले यसअघि संघको सदस्य राष्ट्रका रुपमा मान्दै आएको युरोपेली संघका नियम तथा कानूनहरुबाट मुक्ति पाएको छ । व्यापार, इमिग्रेसन, आवतजावत, सुरक्षा लगायतका क्षेत्रमा बेलायतले स्वतन्त्र रुपमा आफ्नै नीति-नियमको कार्यान्वयन शुरु गरेको छ ।
युरोपभित्रका २७ सदस्य राष्ट्रहरुबीचको राजनीतिक एवम् आर्थिक सम्बन्धको यो ‘नेटवर्क’ सँग सन् १९७३ मा जोडिएको बेलायतको नाता ४७ वर्षपछि तोडिएको छ ।
सन् २०१६ मा सम्पन्न जनमत संग्रहमा बहुमत (५२%) बेलायती जनताले युरोपेली संघबाट बाहिरिने पक्षमा मत दिएका थिए । सोही म्यान्डेटअनुसार नै सन् २०२० को जनवरी ३१ तारिखमा बेलायत युरोपेली संघबाट औपचारिक रुपमा बाहिरिएको थियो । तर त्यसयताका ११ महिनालाई संक्रमणकाल मानेर पुरानै कानूनहरु लागू गरिएको थियो ।
युरोपेली संघबाट अलग्गिएर बेलायतले अब स्वतन्त्र रुपमा आफ्नै कानूनहरुको कार्यान्वयन शुरु गरेको छ । नयाँ व्यवस्थाको कार्यान्वयनसंगै व्यापार, इमिग्रेसन, आवतजावत र सुरक्षाका सवालमा तत्काल नै प्रत्यक्ष र ठूला परिवर्तनहरु हुदैछन् ।
बेलायत युरोपेली संघमा सदस्य रहँदासम्म बेलायत र युरोपबीच ‘फ्रि मुभमेन्ट’ सुविधा थियो । जसअनुसार युरोपेलीहरुलाई बेलायतमा र बेलायतीहरुलाई युरोपमा स्वतन्त्रतापूर्वक आवतजावत गर्न, बस्न र काम गर्न छुट थियो ।
अब यो ‘फ्रि मुभमेन्ट’ अन्त्य भएको छ । जसको अर्थ बेलायत र युरोपबीच पनि अन्य मुलुकहरुको हकमा जस्तै आवतजावत गर्न, बस्न वा काम गर्न भिसा तथा आवश्यक अनुमति लिनुपर्ने हुन्छ ।
बेलायतले गत महिनादेखि लागू गरेको अंकमा आधारित इमिग्रेसन प्रणालीले यसअघि युरोपेली मुलुकका नागरिकहरुले पाउंदै आएको ‘विशेषाधिकार’ कटौती गरी सबै मुलुकका लागि समान नियम लागू गरेको छ ।
ब्रेक्जिटपछिका नयाँ कानूनहरुको कार्यान्वयन शुरु हुनु एक साताअघि मात्रै बेलायत र संघबीच भावी व्यापार सम्बन्धसम्बन्धी एक सम्झौता भएको छ । यसअघि संघको सदस्य राष्ट्रका रुपमा युरोपको ‘एकल बजार’ (सिंगल मार्केट) नीतिमा बांधिएको बेलायत अब स्वतन्त्र रुपमा अन्य मुलुकसँग पनि व्यापार सम्बन्ध बढाउन सक्नेछ ।
संघसंग भएको व्यापार सम्झौताअनुसार भने दुई पक्षबीच कुनै ‘ट्यारिफ’ वा ‘कोटा’ बिना नै स्वतन्त्र व्यापार गर्ने सहमति भएको छ । तर अब बोर्डरहरुमा चेक-जाँच भने पहिलाभन्दा बढी हुनेछन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतलाई थप स्वतन्त्रता र आफ्नो देशको पक्षमा अझ राम्रो गर्ने अवसर प्राप्त भएको प्रतिक्रिया दिएका छन् । युरोपेली संघबाट बाहिरिएपनि बेलायत युरोप महादेशमै रहेको जनाउँदै उनले भविष्यमा पनि युरोपेली मुलुकसंगको सम्बन्ध आफ्नो प्राथमिकतामा पर्ने उल्लेख गरेका छन् ।
युरोपेली संघका नेताहरुले पनि बेलायत संघको एक निकट मित्रका रुपमा रहिरहने बताएका छन् ।
युरोपेली संघसंगको फेरिएको सम्बन्धपछि बेलायतमा गैरयुरोपेली मुलुकहरुका लागि भने थप अवसरहरु सिर्जना हुने आशा गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५