मंगलबार, वैशाख ४, २०८१
06:05 | १०:५०

बेलायतमा एकै दिनमा ५५ हजार बढी संक्रमित, ९६४ को मृत्यु

९ लाख ४४ हजार ५३९ ले पाए कोरोना विरुद्धको भ्याक्सिन

नेपाली लिङ्क डिसेम्बर ३१, २०२०

लन्डन । बेलायतमा कोरोना संक्रमितको संख्याले पछिल्ला दिनहरुमा नयाँ रेकर्ड कायम गर्दै गैरहेको छ । सन् २०२० को अन्तिम दिन आज बिहीवार एकै दिन झन्डै ५६ हजार नयां कोरोना संक्रमित थपिएका छन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार गएको २४ घन्टामा थप ५५ हजार ८९२ जना नयाँ संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या पनि २४ लाख ८८ हजार ७८० पुगेको छ ।

यसैगरी मृतक संख्या पनि सोही अनुपातमा बढेको छ । बिहीबार सांझ सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप ९६४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो बुधबार ९८१ जना संक्रमितको मृत्यु भएको थियो ।

यो संख्या बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछिकै सबैभन्दा उच्च हो । बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण ७३ हजार ५१२ जनाको ज्यान गैसकेको सरकारी तथ्याँकले देखाएको छ ।

पछिल्ला दुई दिनमा मात्र एक हजार ९४८ जना संक्रमितको ज्यान गएको छ । यसैगरी दुई दिनभित्र एक लाख भन्दा बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा मात्र दुई हजार ४३३ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् ।

हाल बेलायतका अस्पतालमा २३ हजार भन्दा बढीको उपचार भैरहेको छ भने एक हजार ८४७ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।

बेलायतमा हालसम्म ९ लाख ४४ हजार ५३९ जनालाई  फाइजर-बायोएनटेकद्वारा विकसित खोप दिइसकेको सरकारी तथ्यांकमा उल्लेख छ । आउँदो सोमबारबाट भर्खरैमात्र बेलायत सरकारद्वारा मान्यता प्राप्त अक्सफोर्डद्वारा विकसित खोप वितरण कार्य शुरु गर्ने सरकारले बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू