शुक्रबार, चैत १६, २०८०
20:38 | ०२:२३

लण्डनमा उपचाररत पूर्व गोर्खा गुरुङको कोभिडबाट निधन

नेपाली लिङ्क डिसेम्बर ३१, २०२०

लण्डन । कोभिड संक्रमणबाट बेलायतमा एक पूर्व गोर्खाले ज्यान गुमाएका छन् ।

लण्डनको नर्थहोल्ट बस्दै आएका ५८ वर्षीय गोर्खा खुशीमान गुरुङको स्थानीय नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा बुधबार साँझ निधन भएको तमु समाज यूकेका अध्यक्ष शिवचन्द्र गुरुङले नेपाली लिंकलाई जानकारी दिए ।

तमु समाज यूकेको वर्तमान कार्यसमितिका सदस्य समेत रहेका मृतक १८ दिनअघि अस्पताल भर्ना भएका थिए । उच्च रक्तचाप र मधुमेहको समस्याबाट पीडित उनलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको समाजका अध्यक्ष गुरुङले बताए ।

मृतक गुरुङका श्रीमती र एक छोरा छन् । पर्वत जिल्लाको रापु पुर्ख्यौली भएका उनको परिवार पछिल्लो समय पोखरामा बस्दै आएको थियो ।

तमु समाज यूकेले गुरुङको निधनमा गहिरो शोक व्यक्त गरेको छ । ‘समाजको काममा सधै सक्रिय हुनुहुन्थ्यो । हरेक बैठकमा आउने, सल्लाह सुझाव दिनुहुन्थ्यो’, अध्यक्ष शिवचन्द्र गुरुङले भने, ‘असामयिक रुपमा उहाँलाई गुमाउनुपर्दा हाम्रो सिंगो समाज स्तब्ध बनेको छ ।’

बेलायतमा कोभिड संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ७० को हाराहारीमा छ । जसमध्ये अधिकांश पूर्व गोर्खाहरु छन् ।

बेलायतमा कोभिड महामारीको पहिलो छालका क्रममा केही महिनाअघि नै धेरै नेपालीको निधन भएपनि हालैका दिनमा भने कोरोनाले नेपालीका मृत्यु भएका खबर सार्वजनिक भएका थिएनन् ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू