शुक्रबार, वैशाख १४, २०८१
13:17 | १८:०२

वर्षभर सबैभन्दा बढी पढिएका नेपाली लिंकका १० समाचार

नेपाली लिङ्क डिसेम्बर ३१, २०२०

लण्डन । आज ईस्वी संवत २०२० को अन्तिम दिन । सारा विश्व नै कोभिड १९ को महामारीबाट प्रताडित बनेको यस वर्ष नेपाली लिंकमा समेत सबैभन्दा धेरै महामारीसम्बन्धी समाचार र जानकारीमूलक लेख, रचना नै प्रकाशित भए ।

नेपाली नयाँ वर्षको अवसर पारेर अप्रिल महिनाको १३ तारिखबाट औपचारिक प्रकाशन शुरु भएको नेपाली लिंकमा यस वर्ष सबैभन्दा बढी पढिएको विषयमा कोरोना महामारी एक नम्बरमा छ । त्यसपछि भूतपूर्व गोर्खा, ब्रेक्जिट, इमिग्रेसन र परोपकारसम्बन्धी सम्बन्धी सामग्रीहरु पनि बढी पढिएका छन् ।

नेपाली लिंकमा प्रकाशित समाचारहरुमध्ये यो वर्षभर सबैभन्दा बढी पढिएका समाचार कुन-कुन होलान् ?

सन् २०२० मा सबैभन्दा धेरैपटक पढिएका नेपाली लिंकका १० समाचारहरु यहाँ हामीले एकसाथ प्रस्तुत गर्ने जमर्को गरेका छौं ।(विस्तृत समाचार पढ्न शीर्षकमा क्लिक गर्नुहोस्) 

लण्डनको प्लमस्टिडबाट हराइरहेकी धनमाया मृत भेटिइन्

‘लण्डनको प्लमस्टिडबाट हराइरहेकी धनमाया मृत भेटिइन्’ शीर्षकको समाचार नेपाली लिंकमा सन् २०२० मा सबैभन्दा धेरै पढिएको समाचार हो । मे महिनाको १२ तारिखका दिन प्रकाशित यो समाचार फेसबुकमा पनि झण्डै २४ हजार पटक शेयर भएको छ ।

पूजा गर्दा बालेको बत्तीले जल्यो बेलायतमा नेपालीको घर

नेपाली लिंकमा यस वर्ष अत्याधिक पढिएका समाचारको दोस्रो नम्बरमा फार्नबरोमा एक नेपालीको घरमा भएको आगलागीसम्बन्धी समाचार छ । ‘पूजा गर्दा बालेको बत्तीले जल्यो बेलायतमा नेपालीको घर’ शीर्षकको समाचार हामीले भिडियो फुटेजसहित प्रकाशित गरेका थियौं ।

नातीको विहेलाई बेलायत आएका क्षेत्रीको कोरोनाबाट निधन

बेलायतमा कोरोनाका कारण नेपालीले ज्यान गुमाएका समाचारहरु यस वर्ष धेरै पढिएका छन् । जसमध्ये धेरै पढिएको सूचीमा तेस्रो नम्बरमा नातीको विहेका लागि बेलायत आएका वृद्धको कोरोनाबाट निधन भएको समाचार छ ।

बेलायतले खोल्यो वर्क परमिट, नेपालबाट पनि आवेदन दिन पाइने

बेलायतको इमिग्रेसनसम्बन्धी समाचार पनि यस वर्ष धेरै पढिएको समाचार हो । डिसेम्बरको शुरुदेखि बेलायतमा अंकमा आधारित इमिग्रेसन प्रणाली शुरु भएको विषयको समाचार धेरै पढिएको सूचीको चौंथो नम्बरमा छ ।

नटिङहममा आइसोलेसनमा बसेका पूर्व गोर्खाको मृत्यु

कोरोना संक्रमणबाटै ज्यान गुमाउने अर्का एक नेपालीसम्बन्धी समाचार पनि धेरै पढिएको सूचीमा पाचौं स्थानमा छ । बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नटिङहमका शिव श्रेष्ठबारे ‘नटिङहममा आइसोलेसनमा बसेका पूर्व गोर्खाको मृत्यु’ शीर्षकमा हामीले समाचार प्रकाशन गरेका थियौं ।

बेलायतको फार्नबरोमा नेपाली महिलामाथि जातीय दुर्व्यवहार र आक्रमण

बेलायतको फार्नबरोमा एक नेपाली महिलामाथि भएको जातीय दुर्व्यवहारको समाचार धेरै पढिएकामध्ये छैठौं नम्बरमा छ । सडकमा हिडिरहेकी नेपाली महिलालाई बेलायती युवाहरुको समूहले जातीय दुर्व्यवहारसहित गालीगलौज गर्दै धकेलेर भूइंमा लडाएको समाचार नेपाली लिंकमा प्रकाशित भएको थियो ।

बेलायतमा प्रपर्टी व्यवसायमा जमेका कुबेर

नेपालीहरुले विभिन्न क्षेत्रमा प्राप्त गरेका सफलताका समाचारहरुमा पनि नेपाली लिंकका पाठकको चासो देखिएको छ । धेरै पढिएका समाचारको सातौं नम्बरमा बेलायतमा प्रपर्टी व्यवसायमा ठूलो सफलता हासिल गरेका कुबेर श्रेष्ठबारे तयार ‘बेलायतमा प्रपर्टी व्यवसायमा जमेका कुबेर’ शीर्षकको समाचार छ ।

६७ वर्षको उमेरमा बेलायती विश्वविद्यालयबाट डिग्री

धेरै पढिएको सूचीको आठौं नम्बरमा ६७ वर्षको उमेरमा बेलायती विश्वविद्यालयबाट डिग्री हासिल गर्ने सुमलकुमार गुरुङसम्बन्धी सामग्री छ । ‘६७ वर्षको उमेरमा बेलायती विश्वविद्यालयबाट डिग्री’ शीर्षकको समाचार दुई साताअघि मात्रै प्रकाशित भएको हो ।

बेलायती सेनाको क्याप्टेन बनिन् भूतपूर्व गोर्खाकी छोरी अंशु गुरुङ

धेरै पढिएका समाचारमा नवौं नम्बरमा बेलायती सेनामा क्याप्टेन बनेकी अंशु गुरुङको स्टोरी छ । बेलायती सेनामा नेपाली महिलाले हासिल गरेको अहिलेसम्मकै ठूलो दर्जासम्बन्धी यो समाचार धेरै पाठकले मन पराएका छन् ।

१० यूके एनएचएसको सेक्युरिटी जिम्मा नेपाली कम्पनीलाई

वर्षभर सर्वाधिक पढिएका समाचारमध्ये दशौं नम्बरमा ‘यूके एनएचएसको सेक्युरिटी जिम्मा नेपाली कम्पनी’ लाई शीर्षकको समाचार छ । बेलायतमा नेपालीबाट सञ्चालित गोर्खा सेक्युरिटी कम्पनीले बेलायतको बर्कशायर तथा ह्याम्पशायर क्षेत्रस्थित एनएचएसलाई सेक्युरिटी उपलब्ध गराउनका लागि पाएको अवसरलाई नेपालीलिंकले समाचारका रुपमा प्रकाशन गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू