शुक्रबार, वैशाख १४, २०८१
21:21 | ०२:०६

मिडल्याण्डसहित इंग्ल्याण्डका थप क्षेत्रमा टिएर ४ प्रतिवन्ध घोषणा

लेस्टर, बर्मिङहम, वुल्भरह्याम्पटन, नटिङहम, ननिटन र स्वीण्डन 'टिएर ४' मा

नेपाली लिङ्क डिसेम्बर ३०, २०२०

लण्डन । बेलायतमा कोरोना भाइरस संक्रमण तीव्र फैलिरहेका बेला सरकारले देशका थप क्षेत्रहरुमा कडा प्रतिवन्धको घोषणा गरेको छ ।

बुधबार बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले मिडल्याण्ड, नर्थ इष्ट, साउथ वेष्ट र नर्थ वेष्टसहितका केही क्षेत्रमा सबैभन्दा कडा तहका  ‘टिएर ४’ प्रतिवन्धहरु लागू गर्न लागिएको घोषणा गरे ।

बुधबार मध्यरातदेखि नै लागू हुने गरी ‘टिएर ४’ मा राखिएका क्षेत्रहरुमा नेपालीहरुको उल्लेख्य बसोबास रहेका मिडल्याण्डका लेस्टर, बर्मिङहम, वुल्भरह्याम्पटन, नटिङहम, ननिटनसहितका क्षेत्र र स्वीण्डन पनि छन् । जुन क्षेत्र अहिलेसम्म ‘टिएर ३’ मा थिए ।

त्यसैगरी, बुधबार मध्यरातदेखि ‘टिएर ४’ मा पर्नेमा लिंकनशायर, नर्थह्याम्पटन, डर्बी, कोभेन्ट्री, चेसायर, म्यान्चेस्टर, समरसेट, बर्नमाउथ, आयल अफ वाइट, ग्लस्टशायर लगायतका क्षेत्र छन् ।

सरकारले यसअघि ‘टिएर २’ मा रहेका लिभरपुल, योर्क, बाथ, कर्नवाल, विल्शायर लगायतका केही क्षेत्रलाई ‘टिएर ३’ मा लैजाने घोषणा समेत गरेको छ ।

‘टिएर ४’ प्रतिवन्ध लागू भएका क्षेत्रमा सरकारले ‘स्टे होम’ को अलर्ट जारी गरेको छ । यी क्षेत्रमा अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द रहनेछन् ।

रेष्टुरेन्ट, पब, बार, हेयर ड्रेसर, जिमखाना लगायतका क्षेत्र बन्द रहनेछन् भने रेष्टुरेन्टहरुले टेकवे तथा डेलिभरी सेवा मात्रै सुचारु राख्न पाउनेछन् । अन्य टियरमा रहने क्षेत्रसम्म यात्रा नगर्न आव्हान गरिएको छ । फरक-फरक घरका सदस्यबीचको इन्डोर मिक्सिंगमा पूर्णत रोक हुनेछ । पार्कसहितका आउटडोर स्थानमा अर्को घरको एक जनासम्म मात्र भेट्ने छुट छ ।

‘टिएर ३’ मा रहने क्षेत्रमा भने आउटडोर ६ जनासम्मको भेटलाई छुट छ र अत्यावश्यकबाहेकका पसल, जीमखाना तथा हेयर ड्रेसर तथा ब्युटी सलुनहरु पनि खुला राख्न पाइन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू