बुधबार, वैशाख १२, २०८१
12:51 | १७:३६

ब्रेक्जिट व्यापार सम्झौता बेलायती संसदबाट भारी मतले अनुमोदन

नेपाली लिङ्क डिसेम्बर ३०, २०२०

लण्डन । बेलायत र युरोपेली संघबीच भएको पोस्ट ब्रेक्जिट ट्रेड डिल ( ब्रेक्जिटपछिको व्यापार सम्झौता) लाई बेलायती संसदले अनुमोदन गरेको छ ।

‘हाउस अफ कमन्स’ मा बुधबार दिउँसो भएको मतदानबाट सम्झौता भारी मतसहित अनुमोदन भएको हो । सम्झौताका पक्षमा ५ सय २१ मत पर्दा विपक्षमा ७३ सांसदले मात्रै मत दिएका थिए ।

विपक्षी लेबर पार्टीका बहुमत सांसदले समेत सम्झौताको पक्षमा मतदान गरेका छन् । मतदानअघि समझौतामाथि सांसदहरुले ५ घण्टासम्म छलफल गरेका थिए ।

संसदको तल्लो सदनबाट पारित सम्झौताको प्रस्ताव अब उपल्लो सदन ‘हाउस अफ लर्डस्’ मा जानेछ । जहाँबाट पनि अनुमोदन भइसकेपछि महारानीले कानूनको रुपमा मान्यता प्रदान गर्नेछिन् ।

बेलायत र युरोपेली संघबीच गतसाता भएको सम्झौता यही जनवरी १ देखि कार्यान्वयन हुँदैछ । बेलायत ११ महिनाअघि नै संघबाट बाहिरिइसकेपनि संक्रमणकालका रुपमा अहिलेसम्म पुरानै कानूनहरु लागू थिए ।

सम्झौताले यही जनवरी १ देखि दुई पक्षबीच व्यापार गर्ने, एक अर्का ठाउँमा गएर बस्ने, काम गर्ने लगायतका प्रयोजनमा के कस्ता शर्तहरु लागू हुने भन्ने कानून तय गरेको छ ।

यो सम्झौताको प्रमुख बुंदा बेलायत र युरोपबीचको भावी व्यापारका सम्बन्धमा छ । जेरो ट्यारिफ र जेरो कोटा डिल भनिएको सम्झौताअनुसार ब्रेक्जिटपछि बेलायत र युरोपबीचको व्यापारमा बोर्डरमा कुनै अतिरिक्त शुल्क लाग्नेछैन । साथै कतिसम्म सामानहरु आयात निर्यात गर्न पाइने भनेर निश्चित कोटा तोकिनेछैन ।

ब्रेक्जिटपछिको लागि व्यापार सम्झौतामा सहमति हुन नसकेको भए बोर्डरमा अतिरिक्त कर बुझाउनुपर्ने हुन्थ्यो । जसको सिधा असरस्वरुप मुल्यवृद्धि हुने थियो । साथै, बोर्डरहरुमा अतिरिक्त चेकजाँचको झञ्झट पनि थपिने थियो ।

बेलायत र युरोपेली संघ एक अर्कासंग नजिकका सबैभन्दा ठूला व्यापार साझेदार भएका हिसाबले पनि ब्रेक्जिटपछिको व्यापार सम्झौता दुवै पक्षका लागि निकै महत्वपूर्ण हुने ठानिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू