शनिबार, वैशाख ८, २०८१
14:26 | १९:११

ल्होछारका अवसरमा बिसीसी यूकेमा विशेष धार्मिक कार्यक्रम

नेपाली लिङ्क डिसेम्बर ३०, २०२०


लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले तमु (गुरुङ) हरुको महान पर्व ल्होछारको अवसरमा धार्मिक पूजापाठ गरेको छ । बुधबार नेपालीहरुको बाक्लो बसोबास रहेको इंल्याण्डको अल्डरसटस्थित बिसीसी गुम्बामा दिप प्रज्ज्वलन, मकला पूजा र आयु पूजासहित ग्रह शान्तिका लागि ‘घ्याप्सी’ पूजा सम्पन्न भएको हो ।

विश्वभर रहेका गुरुङहरुले प्रत्येक पौष १५ हुने ल्हो अर्थात् वर्ग परिवर्तनलाई विशेष महत्वका साथ लिने गर्दछन् । सोही अनुरुप यस वर्ष  मुसा वर्गलाई बिदाई गर्दै गाई वर्गलाई स्वागत गर्ने क्रममा बिसीसी यूकेमा कार्यक्रम आयोजना गरिएको हो । बेलायतवासी गुरुङहरुले पनि उक्त पूजामा अनलाईनमार्फत सहभागी भई तमु ल्होछार मनाएका छन्  

कोभिड महामारीको परिस्थितिलाई ध्यानमा राख्दै पूजालाई फेसबुक लाईभ समेत गरिएको थियो । बिसीसी यूकेका रिन्पोछे लुङ्गरिक र खेन्पो ञ्यिमाले संसारभर रहेका मानव जातिको सुख, शान्ति, दिर्घायू र समृद्धिको कामना गरेका थिए ।  


त्यस अवसरमा बिसीसी यूकेका अध्यक्ष नरेश गुरुङ, सल्लाहकार मेजर खुशीमान गुरुङ, तमुधिं यूके नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङ, उपाध्यक्ष तुलाराम गुरुङलगायतले सम्पूर्ण तमूहरुको प्रतिनिधित्व गर्दै स्वंयसेवकको भूमिका निभाएका थिए । त्यस्तै, तमुधिं यूकेको तर्फबाट अध्यक्ष तथा उपाध्यक्षले गुम्बा परिसरभित्र नयाँ लुंदा समेत फेरेका थिए ।

यसअघि पूजामा दीप प्रज्ज्वलन तथा भोजन दान गर्न चाहनेहरुका लागि बिसीसी यूके तथा तमु धिं यूके सल्लाहकार मेजर खुशीमान गुरुङले जानकारी गराएका थिए । ३०५ जना भक्तजनहरुद्वारा दिप प्रज्ज्वलनका लागि १४ सय ८६ पाउण्ड र भोजन दानका लागि ३ हजार २१ पाउण्ड संकलन भएको थियो । 

भोजन दान वापत संकलन भएको रकमबाट नेपालस्थित शेर्पा आमा समूह स्वयंभूलाई एक लाख रुपैयाँ, गोपाल गुम्बा पोखरालाई २५ हजार रुपैयाँ, गुप्ती गुम्बा पोखरालाई २५ हजार रुपैयाँ, बौद्ध अर्घौं सदन पोखरालाई २५ हजार रुपैयाँ, फुलबारी गुम्बा पोखरा २५ हजार रुपैयाँ, धरान गुम्बालाई २५ हजार रुपैयाँ, रुम्जाटार गुम्बालाई २५ हजार रुपैयाँ, वगिन्द्र शिला गुम्बालाई २५ हजार रुपैयाँ, दार्जिलिङ्ग गुम्बालाई २५ हजार रुपैयाँ, शेचेन गुम्बा काठमाण्डौंलाई २५ हजार रुपैयाँ, याम्दी गुम्बा  पोखरालाई २५ हजार रुपैयाँ, सपना रोका मगरको अभियानलाई २५ हजार रुपैयाँ र छोराछोरी नेपाललाई १६१ पाउण्ड ९८ पेन्स सहयोग प्रदान गरिएको सल्लाहकार मेजर खुशीमान गुरुङले जानकारी गराए ।


गुम्बाका अनुसार ल्होछार पर्वको अवसरमा भोजन दानका लागि जनही १० पाउण्ड संकलन गरिएको थियो । जसबाट ९ पाउण्डको दरले २६ सय ७० पाउण्ड २३ पेन्स नेपालमा सहयोग प्रदान गरिएको र बाँकी १ पाउण्डको दरले हुने ३५० पाउण्ड ७७ पेन्स उक्त पूजामा खर्च भएको छ । त्यस्तै, ल्होछारको अवसरमा बालिएको बत्ती अर्थात् दीप प्रज्ज्वलनका लागि संकलित १४ सय ८६ पाउण्ड दीप प्रज्ज्वलनमै खर्च भएको जनाइएको छ ।

बिसीसी गुम्बाले तमु लगायत विभिन्न जातजातिहरुले मनाउने विभिन्न पर्वमा विशेष पूजा आयोजना गर्दै आएको छ ।

पूर्ण गुरुङ 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू