शुक्रबार, वैशाख १४, २०८१
14:37 | १९:२२

अक्सफोर्ड–एस्ट्राजेनेका खोपलाई बेलायतमा अनुमति

नेपाली लिङ्क डिसेम्बर ३०, २०२०

लन्डन । अक्सफोर्ड/एस्ट्राजेनेकाद्वारा विकसित कोरोना विरुद्धको खोपले आज मान्यता पाएको छ । मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले खोपलाई अनुमति दिएसंगै आममानिसमा खोप वितरण गर्ने बाटो खुलेको छ ।

अनुमति दिनुको अर्थ यो प्रभावकारी र सुरक्षित छ भन्नु हो ।

बेलायतमा कोरोना संक्रमितको संख्याले दिनहुँ नयाँ रेकर्ड बनाउन थालेका बेला यस खोपको अनुमतिले ठूलो राहत मिल्ने आशा गरिएको छ । बेलायतमा मंगलबार एकै दिनमा ५३ हजार संक्रमित थपिएका थिए ।      

सरकारले आउँदो जनवरी ४ तारिखबाट दुई हप्ताभित्र अक्सफोर्ड/एस्ट्राजेनेका तथा फाइजर-बायोएनटेकका २० लाख खोपको पहिलो डोज वितरण गर्ने घोषणा गरिसकेको छ ।

अक्सफोर्ड-एस्ट्राजेनेकाद्वारा विकसित खोप फाइजर बायोएनटेकद्वारा विकसित खोपको तुलनामा व्यवस्थापन र सामान्य फ्रिजको तापक्रममा पनि भण्डारण गर्न निकै सहज हुनुका साथै कम खर्चिलो पनि छ ।

एक डोजको मुल्य दुई देखि तीन पाउण्डसम्म पर्ने सक्ने समाचार माध्यमले जनाइएको छ । उक्त खोप पनि फाइजर- बायोएनटेक जस्तै  प्रति व्यक्ति दुई डोज आवश्यक पर्ने बताइएको छ  ।

हाल बेलायत लगायत विभिन्न मुलुकमा देखिएको कोरोनाको नयां स्वरुपविरुद्ध पनि यो खोप प्रभावकारी हुने बताइएको छ । बेलायत सरकारले अक्सफोर्ड/एस्ट्राजेनेकाको एक सय मिलियन भ्याक्सिन अर्डर गरिसकेको छ, जसमध्ये ४० मिलियन भ्याक्सिन सन् २०२१ मार्चसम्ममा वितरण गरिनेछ ।

बेलायत सरकारले फाइजर-बायोएनटेकद्वारा विकसित गरिएको खोपलाई सबैभन्दा पहिला अनुमोदन गरेर हाल प्राथमिकताका आधारमा वितरण गरिरहेको छ । बेलायतमा हालसम्म ६ लाख १६ हजार भन्दा बढीले फाइजर खोप लगाइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू