शुक्रबार, चैत १६, २०८०
13:34 | १९:१९

ए स्टार प्रिन्सिपल दर्लामीलाई लगातार दोश्रो वर्ष ‘टप टेन एड्भाइजर’ अवार्ड

नेपाली लिङ्क डिसेम्बर २९, २०२०


लन्डन । बेलायतका पहिलो नेपाली इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर (आइएफए) मीन दर्लामी लगातार दोश्रो पटक ‘टप टेन एड्भाइजर’ अवार्डबाट सम्मानित भएका छन् ।

बेलायतमा स्थापित ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका प्रबन्ध निर्देशक दर्लामी फाइनान्सियल नेटवर्कको प्रतिष्ठित संस्था न्यू लिफको उक्त अवार्डबाट सम्मानित भएका हुन् । बेलायतको फाइनान्सियल सर्भिस् (कमर्सियल मोर्गेज, पेन्सन, इन्भेस्टमेन्ट, वील, स्टेट प्लानिङ, इन्सुरेन्स) आदि क्षेत्रमा उत्कृष्ट सल्लाह दिएवापत दर्लामीलाई हालै उक्त अवार्ड दिइएको हो ।

न्यू लिफको अण्डरमा रहेका सयौं सल्लाहकारमध्ये टप टेन छानिएका दर्लामीले नेपाली लिंकसंग भने- ‘यसले कामप्रति जिम्मेवारीवोध र गुणस्तर मेन्टेन गर्न थप प्रेरित गरेको छ ।’  कोभिड महामारीको असरबीच अवार्ड पाउनु सहज नभएपनि आफ्नो रणनीतिक दक्षताले यो सफलता मिलेको उनले बताए ।

बेलायतको नेपाली समुदायमा लोकप्रिय ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले पेन्सन, लगानी, मोर्गेज (रेसिडेन्सियल र कमर्सियल दुबै), इन्सुरेन्स, बिजनेश प्रोटेक्सन, वील एण्ड स्टेट प्लानिङ, इन्कम प्रोटेक्सन एण्ड फेमिली इन्कम बेनिफिट्स आदि क्षेत्रमा काम गरिरहेको छ । कम्पनीले नियमित रुपमा नेपाली समुदायमा गएर निशुल्क परामर्श समेत दिंदै आएको छ ।

ए स्टारले यो वर्ष ९ औं वार्षिकोत्सव मनाउन नपाएपनि दशौं वर्ष गांठ भव्य मनाउने बताएको छ । उक्त कम्पनीले लन्डन हयाङर लेन (मुख्य कार्यालय), आसफोर्ड, फार्नबोरोपछि रेडिङमा पनि शाखा विस्तार गरेको छ । कोभिड महामारीका कारण बेलायतका अन्य शहरमा शाखा खोल्ने योजना भने स्थगित गर्नु परेको दर्लामीले बताए ।

गुल्मी भार्सेमा जन्मिएका दर्लामी ५ सन्तानमध्ये कान्छा हुन् । उनी भार्से उच्च माध्यमिक विद्यालयबाट स्कुल सकेपछि थप उच्च शिक्षा 
ग्रहण गर्न काठमाण्डौं आए । सन् १९९७ मा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर (एमए) गरेपछि दर्लामी सन् १९९९ मा ट्राभल एण्ड हस्पिटालिटीमा पोस्ट ग्रयाजुएसन गर्न स्वीट्जरल्याण्ड गए । साइप्रसबाट सन् २००१ मा एमबीए उत्तिर्ण गरेपछि नेपालको पर्यटन बजार सम्वन्धमा विद्यावारिधि (पिएचडी) गर्न यूके आएका मीनले यहां आएर प्रोफेशनल प्रोजेक्ट एण्ड प्रोग्राम म्यानेजमेन्ट कोर्स गरे । मीनले सर्टिफिकेसन फर मोर्गेजेज, सर्टिफिकेसन फर फाइनान्सियल एडभाइस, पेन्सन ट्रान्सफर स्पेशलिष्ट कोर्ष गरेका छन् । हाल उनी चार्टर्ड सर्टिफिकेसनका लागि परीक्षाको अन्तिम तयारीमा छन् ।

प्रोफेशनल प्रोजेक्ट एण्ड प्रोग्राम म्यानेजमेन्ट कोर्स उत्तिर्ण गरेपछि उनी बिजनेश कार्यक्रम तथा प्रोजेक्ट व्यवस्थापनतिर संलग्न रहे । कलेज व्यवसायमा समेत संलग्न दर्लामीले सन् २०१२ देखि एक्सेस फाइनान्सियल सर्भिसेसमार्फत फाइनान्सियल सर्भिसको व्यवसाय शुरु गरेका हुन् । हाल सोही कम्पनी ए स्टार फाइनान्सियल सोलुसन्स यूके नाममा सञ्चालित छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू