बिहीबार, वैशाख १३, २०८१
00:13 | ०४:५८

मास्टर मित्र सेनलाई सम्झिदै विनेसाम साउथ यूके

नेपाली लिङ्क डिसेम्बर २९, २०२०

​लण्डन । विश्व नेपाली साहित्य महासंघ साउथ यूकेले पुराना गायक एवम् साहित्यकार मास्टर मित्र सेन थापा मगरलाई सम्झने भएको छ । १२५ औँ मास्टर मित्र सेन जयन्तीका अवसरमा महासंघले एक अन्तर्राष्ट्रिय परिचर्चा कार्यक्रम आयोजना गर्दै सेनलाई स्मरण गर्न लागेको हो ।

युद्ध साहित्यका लागि मास्टर मित्र सेन एक महत्वपूर्ण पात्रका रूपमा रहेको भन्दै महासंघले यही जनवरी ३ तारिखका दिन एक अन्तर्राष्ट्रिय साहित्यिक संवाद आयोजना गर्न लागेको अध्यक्ष विजय हितानले बताए । उनका अनुसार कार्यक्रममा बेलायत, भारत, नेपाल र अन्य मुलुकहरूबाट साहित्यकारहरूको सहभागिता रहने छ । 

जुममार्फत हुने संवादमा मास्टर मित्रसेन स्मृति प्रतिष्ठान काठमाडौँका अध्यक्ष त्रिलोकसिं थापा मगर, गुवाहटी विश्वविद्यालयका प्राध्यापक डा. खगेन शर्मा र मित्रसेन साहित्य संगीत सभा भाग्सु धरमशालाका अध्यक्ष साधना नेपाली प्रमुख वक्ताका रूपमा सहभागी हुँदैछन् । कार्यक्रममा सर्जकहरूले केही युद्ध रचना र गीत पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको अध्यक्ष हितानले जानकारी दिए ।

मास्टर मित्रसेन नेपाली लोक गायक, गीतकार, नाटककार र सामाजिक नेताका रूपमा चर्चित छन् । उनको जन्म सन् १९८५ डिसेम्बर २९ मा भएको थियो । सैनिक जीवनमा छोटो समय बिताएका उनको निधन सन् १९४६ अप्रिल ७ मा भएको थियो । उनले पहिलो विश्वयुद्धमा फ्रान्सको युद्धमा समेत सहभागिता जनाएका थिए । 

उनका २४ डिस्क रेकर्ड र ९७ गीतहरू नेपाली संगीतमा रेकर्ड भएका छन् । त्यसमध्ये, ‘लाहुरेको रेलिमाई फेसनै राम्रो’, ‘धानको बाला झुल्यो हजुर’, ‘मलाई खुत्रुक्कै पार्‍यो जेठान’ लगायतका गीतहरू लोकप्रिय छन् ।

अमित याक्थुङ्वे  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू