बिहीबार, चैत १५, २०८०
10:55 | १६:४०

राजदूत सुवेदीको आफ्नै आवाजमा अडियो बुक

नेपाली लिङ्क डिसेम्बर २९, २०२०

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) द्वारा रचित कविताको अडियो बुक (सुन्ने संस्करण) रेकर्ड भएको छ । ‘लोकप्रिय कवि डा दुबसु क्षेत्रीका प्रिय कविता’ को रुपमा तयार गरिएको उक्त अडियो बुकमा सुवेदी आफैंले आवाज दिएका हुन् ।

यस अडियो बुकको प्रकाशन दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठानका लागि राजदूत पत्नी पुनम सुवेदीद्वारा गरिएको छ । बरिष्ठ पत्रकार एवं संचारकर्मी खगेन्द्र नेपालीको सम्पादन तथा स्वरांकन रहेको अडियो बुकमा राजदूत सुवेदीको आफ्नै रचना एवंम् स्वरबद्ध  ८१ वटा कविता छन् ।

सुवेदीद्वारा लिखित काव्य संग्रह ‘अश्वमेध यज्ञका घोडाहरु’ को अडियो बुक (सुन्ने संस्करण) मा नेपालीको स्वरमा ५९ वटा कविता रेकर्ड गरिएको अडियो बुक यसअघि नै तयार भैसकेको छ ।

हाल बेलायतका लागि नेपाली राजदूतको रुपमा कार्यरत सुवेदीले बेलायतमा नेपाली कला, साहित्य र संगीतलाई पछिल्लो चार वर्षमा निकै मलजल गरेका छन् । आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर नेपाल प्रस्थानको तयारीमा रहेका सुवेदीको संयोजन र सम्पादनमा छ वटा कृतिहरु ‘बेलायतमा नेपाली कवि र कविता’, ‘बेलायतमा नेपाली कथा’, ‘बेलायतमा नेपाली मुक्तक’ र ‘बेलायतमा नेपाली गजल’ ‘बेलायतमा नेपाली नाटक’ प्रकाशित भएका छन् ।

नेपाली साहित्यमा उनको योगदान निकै उचो छ । कविता, गीत, गजल, निबन्ध जस्ता दर्जनौं कृति प्रकाशित भइसकेका छन् । दुबसु क्षेत्रीका प्रारम्भिक गजल’, ‘चुपचाप चुपचाप’, ‘कोलाज मन’, ‘निर्बन्ध मन’, ‘अतिरिक्त मन’, ‘अमलेख मन’, ‘समसामयिक नेपाली गजल’ उनका गजल कृतिहरु हुन् ।

उनको ‘दुबसु क्षेत्रीका प्रारम्भिक मुक्तक’ नामक मुक्तक संग्रह प्रकाशित भएका छन् । त्यस्तै उनका ‘समकालीन नेपाली कविता’, ‘समकालीन नेपाली कविताको रूपयात्रा’, ‘मानवाधिकारका लागि नेपाली कविता’, ‘म्यान्माली नेपाली कविता’, ‘प्रतिनिधि म्यान्माली नेपाली कविता’, ‘अनेसासको इतिहास’, ‘एक्काइसौं शताब्दीको नेपाली साहित्य’, ‘साहित्य र संस्कृति’, ‘जापानमा नेपाली भाषा र साहित्य’ र ‘म्यान्मामा नेपाली भाषा’ जस्ता विभिन्न कृति प्रकाशित छन् ।

कूटनीति र साहित्यलाई एकैसाथ अघि बढाउंदै आएका सुवेदीले परराष्ट सेवामा तीन दशक भन्दा बढि समय बिताइसकेका छन् ।

बेलायतस्थित लिड्स युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्धमा एमए र त्रिभुवन विश्वविद्यालयबाट नेपालको परराष्ट्र र कूटनीति सम्वन्धमा विद्यावारिधि गरेका सुवेदीले नेपाली राजदूतावास बर्मामा द्वितीय सचिव, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा प्रथम सचिव तथा नेपाली राजदूतावास जापानमा डेपुटी चिफ अफ मिसन र मिनिष्टर काउन्सिलर तथा बहराइनमा कार्यवहाक राजदूतको भूमिका कुशलतापूर्वक निभाइसकेका छन् ।

विश्वका धेरै ठाउंको साहित्य, संस्कृति, धर्म दर्शन र सभ्यताको अध्ययन र अनुभवलाई उनले आफ्नो सृजनामा प्रतिविम्बित गरेका छन् । सुवेदीका गीत, कविता र गजल गरी झण्डै एक दर्जन बढि साहित्यिक रचना प्रकाशित छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू