शनिबार, वैशाख १५, २०८१
00:43 | ०५:२८

अल्डरसटको शिव मन्दिर शिवरात्रीदेखि सञ्चालनमा ल्याउने तयारी

मन्दिर निर्माणको ९५ प्रतिशत काम सम्पन्न

नेपाली लिङ्क डिसेम्बर २९, २०२०


लण्डन । बेलायतमा नेपालीहरुको बाक्लो बसोबास रहेको अल्डरसटमा शिव मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले अल्डरसटको भिक्टोरिया रोडस्थित आफ्नै प्रपर्टीमा निर्माण गरेको मन्दिर आउँदो मार्च महिनाको अन्तिम साता पर्ने शिवरात्रीदेखि सञ्चालनमा ल्याउने तयारी छ ।

सेन्टरका महासचिव विक्रम भट्टराईका अनुसार अहिलेसम्म मन्दिर निर्माणको करिब ९५ प्रतिशत काम पूरा भइसकेको छ । बाँकी कामहरु पूरा गरेर शिवरात्रीका दिनदेखि मन्दिर नियमित रुपमा सञ्चालन गरिनेछ ।

‘महामारीका कारण हामीले लक्ष्य राखेभन्दा केही ढिलाई भएको छ । तर अब आउँदो शिवरात्रीमा शुभारम्भ गर्न सक्ने अवस्थामा आइपुगेका छौं’, महासचिव भट्टराईले नेपाली लिंकलाई भने, ‘शिवरात्रीका दिन विधिपूर्वक प्राणप्रतिष्ठाको काम सम्पन्न गर्ने र त्यसपछि नियमित मन्दिर सञ्चालन गर्ने हाम्रो योजना छ ।’

भट्टराईका अनुसार मन्दिरको अग्रभागलाई प्यागोडा शैलीको रुप दिने, चतुर्मुखी शिवलिंग राखिएको स्थानलाई व्यवस्थित गर्ने, मन्दिरभित्र सजावट गर्ने लगायतका केही कार्य अझै बाँकी छन् । त्यस्तै, मन्दिर परिसरलाई कोरोना जोखिममुक्त क्षेत्रका रुपमा स्थानीय काउन्सिलबाट अनुमति लिने कार्य पनि अझै प्रक्रियामै छ ।


अल्डरसट क्षेत्रमा मन्दिर एवम् सामुदायिक केन्द्र सञ्चालनको सोचसहित स्थानीय नेपाली र भारतीय समुदायको सहकार्यमा सन् २००७ मा शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर स्थापना भएको थियो । सेन्टरमा वर्तमान अध्यक्ष भिम बानिया छन् भने संरक्षक रोहित गुरुङ हुन् ।

विभिन्न भेन्यूमा अस्थायी मन्दिरका रुपमा धार्मिक एवम् सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको सेन्टरले झन्डै दुई वर्षअघि ३ लाख पाउण्डमा मन्दिर भवन खरिद गरेको थियो । सोही भवनलाई मर्मतसम्भार र पुननिर्माण गर्दै मन्दिरको आकार दिने कार्यका लागि झण्डै १ लाख ८० हजार पाउण्ड खर्च भएको छ ।

भवन खरिददेखि मन्दिर निर्माणसम्मको कार्यका लागि जम्मा करिब ५ लाख पाउण्ड खर्च भइसकेको सेन्टरले जनाएको छ । जसमध्ये यसअघि संकलित कोषबाट अपुग भएको २५ हजार पाउण्ड अहिले मन्दिरको ऋण छ । मन्दिरका ट्रस्टी र कार्यसमितिमा रहेका सदस्यहरुले ब्याज नलिने गरी दुई वर्षका लागि ऋण उपलब्ध गराएका छन् ।

यसअघि मन्दिरको लागि पण्डित दिनबन्धु पोखरेलको प्रवचन कार्यक्रमबाट झण्डै ५० हजार पाउण्ड र फार्नबरो साई सेन्टरबाट ७५ हजार पाउण्डसहित बेलायतस्थित विभिन्न संघसंस्था र सयौं दाताबाट रकम संकलन गरिएको थियो ।

मन्दिरलाई १५ हजार पाउण्ड बढीको आर्थिक सहयोग गरेका समाजसेवी एवम् व्यवसायी रवि लामिछानेले ४ सय किलो तौलका मूर्ती तथा शिवलिंग समेत सहयोगस्वरुप प्रदान गरेका छन् ।

निर्माणाधिन मन्दिरका केही तस्विरहरु:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू