बेलायतमा संक्रमित संख्यामा नयाँ रेकर्ड: एकदिनमै ४१ हजारमा संक्रमण
हालसम्मको मृतक संख्या ७१ हजार १०९
लन्डन । बेलायतमा कोभिड संक्रमण नियन्त्रणको प्रयासमा हाल जारी कडा प्रतिवन्धका बावजुद पनि कोरोना संक्रमणको दर उच्चतम विन्दुमा पुगेको छ ।
सोमबार दिउँसो सार्वजनिक तथ्याँकअनुसार गएको २४ घन्टामा मात्र ४१ हजार ३८५ जना नयां कोरोना संक्रमित थपिएका छन् । बेलायतमा एक दिनको अवधिमा थपिएको संक्रमितको यो संख्या कोरोना महामारी शुरु भएयताकै सबैभन्दा बढी हो ।
बेलायत यतिबेला कोरोना संक्रमणको दोस्रो लहरका साथै भाइरसको नयाँ संस्करणको चपेटामा परेको छ । बेलायतमा कोरोना संक्रमितको कुल संख्या २३ लाख २९ हजार ७३० पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा ३५७ संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको जम्मा संख्या ७१ हजार १०९ पुगेको छ ।
अस्पताल भर्ना हुने कोरोना संक्रमितको संख्या पनि अत्यधिक रुपमा बढेपछि यहाँका अस्पतालमा पनि संकटको अवस्था सिर्जना भएको स्वास्थ्य विभागले जनाएको छ ।
लन्डन एम्बुलेन्स सर्भिसले एक दिनमा सात हजार ९१८ भन्दा बढी टेलिफोन कल प्राप्त भएको बताएको छ । गत वर्ष सोही दिनको तथ्यांक हेर्दा दुई हजार पांच सय टेलिफोन कल मात्र आएको पाइएको छ ।
सोमबारसम्मको २४ घन्टामा मात्र दुई हजार १४३ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । २१ हजार भन्दा बढी अस्पताल उपचार गराइरहेका छन् भने एक हजार पांच सय भन्दा बढी भेन्टिलेटर बेडमा रहेको स्वास्थ्य विभागले जनाएको छ ।