मंगलबार, वैशाख ११, २०८१
09:48 | १४:३३

यूकेका लागि नयाँ राजदूत नियुक्ति प्रक्रिया लम्बिंदा डा सुवेदीको नेपाल फिर्तीमा विलम्ब

बेलायतको 'एग्रिमा' नजाँदा राजदूत नियुक्तिमा ढिलाई

नेपाली लिङ्क डिसेम्बर २८, २०२०

लण्डन । बेलायतका लागि नयाँ नेपाली राजदूत नियुक्तिको प्रक्रिया लम्बिंदा बेलायतस्थित राजदूत डा. दुर्गाबहादुर सुवेदीको नेपाल फिर्तीमा विलम्ब भएको छ ।

चार वर्षे कार्यकाल गत सेप्टेम्बर महिनामै पूरा भएपनि राजदूत डा सुवेदी कहिले नेपाल फर्किने भन्ने यकिन अझै हुन सकेको छैन ।

लण्डनस्थित नेपाली दूतावास स्रोतका अनुसार नयाँ राजदूतको नाममा बेलायत सरकारले ‘एग्रिमा’ पठाएलगत्तै नेपाल फर्किने योजना सुवेदीको छ । नयाँ राजदूत बेलायत आउनुअघि नै उनी नेपाल जाने तयारीमा रहेको बुझिएको छ ।

नयाँ राजदूत नियुक्तिमा ढिलाईले कार्यकाल सकिएयता नेपाल फिर्तीको योजनालाई पटकपटक पर सार्न बाध्य भएका छन् डा सुवेदी । पछिल्लोपटक क्रिसमसलगत्तै नयाँ वर्षअघि नै नेपाल उड्ने योजना उनले बनाएका थिए ।

बेलायतको लागि नेपाली राजदूतमा प्रस्तावित लोकदर्शन रेग्मीको नाममा बेलायत सरकारबाट ‘एग्रिमा’ नपठाएकै कारण उनको नियुक्तिमा ढिलाई भएको हो । रेग्मीसंगै नेपाल सरकारबाट सिफारिश भएका र संसदीय समितिबाट समेत एकैदिन अनुमोदन भएका डा युवराज खतिवडा अमेरिकाको राजदूत नियुक्त भइसकेका छन् ।

‘अहिले क्रिसमस र नयाँ वर्षका बिदाहरुका कारण पनि बेलायतबाट एग्रिमा जान थप ढिलाई भएको छ । कोभिड महामारीको उत्कर्ष, ब्रेक्जिटपछिको संक्रमणकालीन समयको डेडलाइन लगायतका सन्दर्भले पनि प्रक्रिया लम्बिनमा भूमिका खेलेका हुन सक्छन्’, दूतावास स्रोतले भन्यो, ‘सामन्यतः राजतन्त्रतात्मक मुलुकहरुबाट एग्रिमा जाने प्रक्रिया अन्य मुलुकको तुलनामा केही लामो हुनु स्वभाविक पनि हो ।’

बेलायतमा सार्वजनिक बिदाहरु सकिएसंगै नयाँ वर्षलगत्तै ‘एग्रिमा’ जाने अपेक्षा छ । राजदूत नियुक्तिको प्रक्रियाअन्तर्गत एग्रिमो गएपछि राष्ट्रपतिबाट नियुक्ति हुने काम मात्र बाँकी रहेकाले नेपालको पछिल्लो राजनीतिक उथलपुथलले यो प्रक्रियामा थप अवरोध नगर्ने ठानिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू