बिहीबार, वैशाख १३, २०८१
12:17 | १७:०२

ओलीको ‘प्रतिगमन’ नसच्चिए संविधान नै खतरामाः 
प्रवासी एकता मञ्च यूके

नेपाली लिङ्क डिसेम्बर २७, २०२०

लन्डन । प्रवासी नेपाली एकता मञ्च यूकेले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु गलत भएको ठहर गर्दै ओलीको ‘प्रतिगमन’ नसच्चिए संविधान नै खतरामा पर्ने निष्कर्ष निकालेको छ ।

वर्तमान गम्भीर राजनीतिक परिस्थितिकाबीच मञ्चको २७ डिसेम्बर २०२० का दिन भएको राष्ट्रिय कार्यसमितिको अनलाइन बैठकले प्रतिनिधिसभा पुनस्थापनाका लागि आ-आफ्नो ठाउंबाट दृढतापूर्वक उभिन आव्हान समेत गरेको छ । प्रधानमन्त्री ओलीले विधि, विधान, पार्टी निर्णय केही पनि नमानेको र संविधानसमेत मिच्दै अगाडि बढेको बैठकको ठहर छ ।

कमिटीका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षता र सचिव सुरेश गौतमको सञ्चालनमा भएको उक्त बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारको नीति तथा कार्यक्रम र बजेट पास हुन अवरोध नभएको साथै सरकार सञ्चालनमा पार्टीले कुनै अवरोध नगरेको अवस्थामा अवरोध भयो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनधिसभा विघटन गर्नु गलत छ । संवैधानिक व्यवस्थाविपरीत भंग गरिएको प्रतिनिधिसभा पुनस्थापना नभए संविधानमाथि नै प्रश्न उठ्ने भएकाले पार्टी एकताको पक्षमा भएका सबै पार्टी कार्यकर्ताहरूलाई प्रतिनिधिसभा पुनस्थापनाका लागि आ-आफ्नो ठाउंबाट दृढतापूर्वक उभिन आव्हान गर्ने निर्णय गरियो ।’

उक्त निर्णयमा कमिटीका सदस्यहरु सरस्वती केसी र हेम लिम्बुले असहमति ब्यक्त गरेका छन् भने विमला सेने र विजय बिक्रम लिङदेनले सर्वोच्च अदालतको फैसला नआउंदासम्म यस विषयमा मौन बस्ने आफ्नो धारणा ब्यक्त गरे ।

बैठकले समसामयिक विषयमा छलफल गरि पार्टी विभाजन हुने तहमा पुगेको वर्तमान परिस्थितिमा पार्टीका नेता र आफ्ना सहकर्मी साथीहरूलाई अशोभनीय र गैर राजनीतिक टिप्पणी नगर्न सचेत गराउने निर्णय गरेको छ । पार्टी अनुशासन विपरित जाने सदस्यहरुलाई सचेत गराउंदै आवश्यक परे कारवाही समेत गर्ने निर्णय बैठकको छ ।

बैठकले वर्तमान परिस्थितिबारे स्वतन्त्र र नागरिक समाजका व्यक्तिहरुसंग अन्तरक्रिया गर्ने निर्णय पनि गरेको छ ।

उक्त बैठकमा अध्यक्ष राजेन्द्र पुडासैनी, सचिव सुरेश गौतम, सदस्यहरु रबिन्द्र कंडेल, कुमार केसी, मानबहादुर गुरूङ, उमेशराज मोक्तान, ठाकुरप्रसाद शर्मा, सरस्वती केसी, बिजय बिक्रम लिङदेन, शेरसिंह ठकुरी, कृष्ण भण्डारी, सुरेशजंग शाह, कपिल श्रेष्ठ, सुशिला राई,  पार्वती पाण्डे, बिमला सेने, मिनु श्रेष्ठ, अरुण थापा, कृष्ण तिवारी, हरिकृष्ण पौडेल, राममणी रिजाल, पदम राई, जोनी पहारी, हेम लिम्बु र राजन अर्याल उपस्थित थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू