बिहीबार, चैत १५, २०८०
18:14 | २३:५९

बेलायतमा क्रिसमससँगै २४ मिलियन जनता कडा प्रतिबन्धमा

थप ३४ हजार ६९३ जना संक्रमित

नेपाली लिङ्क डिसेम्बर २६, २०२०

लन्डन । वर्षभरिकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस यसपटक बेलायत लगायत विभिन्न मुलुकमा परिवारबीच मात्र सिमित रह्यो । कोरोना संक्रमणका कारण बेलायतको राजधानी लन्डन लगायत विभिन्न भागमा यसअघि नै  ‘टीयर ४’ अन्तर्गत कडा प्रतिबन्धको घोषणा गरिएको थियो ।

बाँकी रहेका अन्य भागहरुमा पनी बक्सिंग डे अर्थात शनिबारबाट थप प्रतिबन्ध लागू गरिएको छ ।‘स्टे होम’ को आदेश जारी गरिएको यस प्रतिबन्धलाई लकडाउनकै अर्को रुप मानिएको छ । कोभिड १९ को उच्च जोखिम भएका स्थानहरुमा ‘टीयर ४’ लागू गरिएको छ । स्कटल्याण्ड र नर्दर्न आएरल्याण्डमा लकडाउन भएको छ ।

पछिल्लो पटक लागू गरिएको प्रतिबन्धका कारण बेलायतमा थप ६० लाख मानिस प्रभावित हुने अधिकारीहरुले बताएका छन् । बेलायतमा २४ मिलियन मानिस अर्थात कुल जनसंख्याको ४० प्रतिशत कोरोना संक्रमणको अति उच्च जोखिम ‘टीयर ४’ अन्तर्गत  पर्दछन् ।

अति उच्च जोखिम अन्तर्गत अत्यावश्यक  बाहेकका सम्पूर्ण पसल बन्द रहनेछन् । यसैगरी हेयरड्रेसर, स्विमिंग पुल, जीमखाना सबै बन्द रहनेछन् । एक अर्को घरका मानिससँग भेटघाटमा प्रतिबन्ध लगाइनेछ । यस्ता खालका प्रतिवन्ध इंग्ल्याण्ड तथा स्कटल्यान्डमा आ-आफ्नै तरिकाले लागु गरिएका छन् ।

बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७० हजार नाघेपछि थप सावधानी अपनाउन कडा प्रतिबन्ध लागू गर्न लागिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

शनिबार सांझ सार्वजनिक तथ्याँक अनुसार बेलायतमा पछिल्लो २४ घन्टामा थप ३४ हजार ६९३ जना नयाँ कोरोना संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । यससंगै बेलायतमा संक्रमितको कुल संख्या २२ लाख ५६ हजार नाघेको छ ।

पछिल्लो समय बेलायतमा कोरोना भाइरसको नयां सस्करण तीव्र रुपमा फैलिएको छ । संक्रमित संख्या गत अप्रिल पछिकै सबैभन्दा उच्च भएको छ ।

शनिबार थप २१० जना संक्रमितको मृत्यु भएसंगै मृतक संख्या ७० हजार ४०५ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । तर, कोरोना संक्रमणका कारण मृत्यु भएको मृत्यु दर्ता प्रमाणपत्रको आधारमा भने यहाँको मृतक संख्या ७९ हजारभन्दा बढी छ ।

दैनिक हस्पिटल भर्ना हुने कोरोना संक्रमितको संख्या महामारी शुरु भएयाताकै सबैभन्दा बढी भएको स्वास्थ्य विभागले उल्लेख गरेको छ  ।

शनिबार सार्वजनिक तथ्याँक अनुसार गएको २४ घन्टामा दुई हजार १४३ जना कोरोनासंक्रमित हस्पिटल भर्ना भएका छन् ।

हाल हस्पिटलमा २१ हजार भन्दा बढी उपचार गराइरहेका छन् । जसमध्ये एक हजार ५२९ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।

हाल बेलायतमा फाइजर-बायोएनटेकद्वारा विकसित कोरोना विरुद्धको भ्याक्सिन वितरण कार्य चलिरहेको छ । एक व्यक्तिको लागि दुई डोजको आवश्यकता पर्ने उक्त भ्याक्सिन हालसम्म ६ लाख १६ हजार ९३३ जनालाई पहिलो डोज दिइसकेको सरकारको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू