बुधबार, वैशाख १२, २०८१
14:50 | १९:३५

लन्डन बसेर नेपालको प्रतिष्ठा उकास्दै गौरिका

नेपाली लिङ्क डिसेम्बर २६, २०२०


लन्डन- लन्डन निवासी जलपरी गौरिका सिंहले एक वर्षअघि १३औं दक्षिण एसियाली खेलकुद (साग) मा जुन सफलता पाइन्, त्यसले सिंगो नेपाली खेलकुदलाई गौरवान्वित त बनायो नै । त्यसले एउटा छुट्टै मार्गनिर्देश गरेको छ । उनको सफलतामा नेपाल सरकारले प्रदान गरेको पुरस्कारले आमखेलाडीलाई आकर्षित बनाएको छ । गौरिकाको लगानी र मिहिनेतप्रति सरकारले न्याय गरिदिएको छ ।

उनले नेपाली खेलकुदबाट सबैभन्दा ठूलो पुरस्कार रकम पाएकी छन् । त्यो पनि एकै संस्करणमा जितेको पदकका आधारमा । ४ स्वर्ण, २ रजत र ३ कांस्य जितेकी उनले ६२ लाख रुपैयाँ पुरस्कार पाइन् । व्यक्तिगत रूपमा सरकारबाट नेपाली खेलाडीले पाएको यो ठूलो पुरस्कार राशि हो ।

‘म नेपाली नै हुँ, म नेपालकै लागि खेल्छु’, गौरिकाले भावविह्वल हुँदै भनेकी थिइन् १३ औं साग चलिरहेका बेला । यस्तो किन पो भन्नुपरेको थियो होला त ? सार खिच्दा यसको नेपाली खेलकुदमा नयाँ मानक तयार हुन्छ । विदेशी भूमिमा प्रशिक्षण लिएर कोही अब्बल हुन्छ र उसले नेपालको प्रतिष्ठा बढाउने काम गर्छ भने त्यसलाई स्वागत गर्न किन कन्जुस्याइँ ?

कसैले तिनलाई कहाँ नेपाली होइन भन्न पाइन्छ र ? बरू उनले पाएको उपलब्धिमा खुसी भएर मन ठूलो पार्दा राम्रो । धन्य, गौरिकाले यस्तो फरक बाटो त खोलिदिएकी छिन् । लन्डनमा बस्छिन्, पौडी खेल्छिन् अनि नेपालको प्रतिधिनित्व गर्छिन्  । त्यो पनि गौरवले । वर्ष २०७६ सालमा नेपाली खेलकुद इतिहासमै ठूलो अवसर केही हो भने त्यो १३औं दक्षिण एसियाली खेलकुद हो ।

यसमा कुनै नेपालीको ठूलो उपलब्धि छ भने त्यो गौरिकाले जितेको चार स्वर्ण नै हो । उनले एउटै सागमा चार स्वर्णमात्र जितिनन्, त्यसमा रजत र कांस्य थपिन् अनि सबैको मन जितिन् । त्यसो त उनको यही प्रदर्शनमा खोट लगाउने पनि रहे । त्यसकै जवाफमा त हो गौरिकाले भनेकी, ‘म नेपाली हुँ, म नेपालकै लागि खेल्छु ।’

कसैले औंला भाँचेर नेपाली खेलकुदका सबैभन्दा सफल खेलाडीको सूची बनाउँछ भने त्यसमा पक्कै गौरिकाको नाम हुनेछ । त्यसैले त नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको वर्ष २०७६ को पल्सर स्पोर्ट्स अवार्डको लोकप्रिय खेलाडी विधामा उनको नाम मनोनयनमा छ । उनी यसका लागि हकदार त छिन् नै, तर अवार्ड जित्न उनीसामु बलिया प्रत्याशी पनि छन्  ।

पछिल्लो समय नेपाली खेलकुदबाट धेरैले चिनेको अनुहारमा पर्छ गौरिका । यसको पृष्ठभूमि सुरु भएको चार वर्षअघिदेखि हो । त्यसअगाडि फुच्ची गौरिकाले नेपाली घरेलु पौडीमा तहल्का मच्चाइसकेकी थिइन्  । तर, उनको सबैभन्दा पहिले बलियो उल्लेखनीय प्रदर्शन सन् २०१६ मा भएको थियो, भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुदमा ।

गुवाहाटीमा उनले नेपालका लागि एक रजत र तीन कांस्य पदक जितिन् । उनले जितेको त्यो रजत नेपाली पौडीमा हकले जितेको पहिलो ठूलो उपलब्धि थियो । त्यसपछि त्यही वर्ष ब्राजिलको रियो दी जेनेरियोमा त उनले तहल्का नै मच्चाइन्  । विश्व खेलकुदको महाकुम्भमा गौरिका नै सबैभन्दा कान्छी खेलाडी थिइन् । उनको चर्चा चौतर्फी भयो । भन्न कर लाग्छ, यत्तिको विश्वव्यापी चर्चा त्यसअघि अरू कोही नेपाली खेलाडीले कहिल्यै हासिल गरेका थिएनन्  । पछिल्लो दक्षिण एसियाली खेलकुदमा त उनले झन् गज्जब गरिन्, चार स्वर्णको उपलब्धिसँगै ।

अब त गौरिकाबारे मज्जाले भन्न सकिन्छ, उनी फगत चर्चामा मात्र रहिनन्, उनले आफूलाई सिद्ध गरेकी छन्  । अब यिनै १८ वर्षीया गौरिकालाई धेरैभन्दा धेरै मत दिएर लोकप्रिय विधामा जिताउने काम भने आम खेलप्रेमीहरूको हो । (कान्तिपुरबाट)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू