शनिबार, वैशाख ८, २०८१
06:06 | १०:५१

बेलायतका कमरेडहरुः प्रचण्ड-नेपाल कि ओली पक्षतिर ?

नेपाली लिङ्क डिसेम्बर २६, २०२०

लण्डन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको असर देशभित्र मात्र नभएर विदेशमा पनि देखिन थालेको छ । विदेशस्थित नेकपा संगठन प्रवासी नेपाली एकता मञ्चहरु पनि केपी ओली र प्रचण्ड -माधव नेपाल समूहको दुई कित्तामा विभाजित भएका छन् । 

बेलायतमा रहेका नेकपा निकट प्रवासी नेपाली एकता मञ्चमा आबद्ध ‘कमरेड’ हरु पनि यतिबेला केपी शर्मा ओली र प्रचण्ड -नेपालको पक्ष/ विपक्षमा खुल्न शुरु गरेका छन् । 

अहिलेसम्म पूर्व एमालेका अधिकांश ओली पक्षमै देखिएका छन् भने पूर्व माओवादीका पनि धेरै प्रचण्ड-नेपाल पक्षमा । तर, केही पूर्व एमाले प्रचण्ड नेपाल पक्षमा र केही पूर्व माओवादी पक्षको समर्थनमा पनि देखिएकाले बेलायतमा कुन पक्षको पल्ला भारी होला भन्ने कौतुहलता नेकपा वृत्तमा सिर्जना भएको छ । 

पूर्व एमालेका अध्यक्ष प्रचण्ड-नेपालमा, अरु धेरै ओलीमा

एमाले र माओवादीको एकतापछि गठित प्रवासी नेपाली एकता मञ्च बेलायतका अध्यक्ष पुडासैनी पूर्व एमाले र सचिव सुरेश गौतम पूर्व माओवादी समूहका हुन् । उनीहरु दुवैजना प्रचण्ड-नेपालमा समुहको समर्थनमा खुलिसकेका छन् । 

मञ्चका अध्यक्ष पुडासैनी खुलेरै केपी ओलीको विपक्षमा देखिएपनि उनी नेतृत्वको कार्यसमितिमा पूर्व एमालेबाट प्रतिनिधित्व गर्नेमध्ये बहुमत ओलीकै पक्षमा देखिएका छन् । मञ्चको कार्यसमितिमा रहने पूर्व एमालेका अध्यक्ष पुडासैनी र कृष्ण तिवारी, कृष्ण भण्डारी, सुशिला राई लगायतका केही सदस्यबाहेक अरु धेरै ओली पक्षमै रहेको मञ्चनिकट स्रोतले बताएको छ । 

बेलायतस्थित तत्कालिन एमालेनिकट प्रवासी नेपाली मञ्चका पूर्व अध्यक्षहरुमा पनि पुडासैनीबाहेक सबै ओलीकै पक्षमा छन् । 

पूर्व अध्यक्षहरु आकलजंग लामा, दिनेश घिमिरे र रामशरण सिम्खडासंगै भक्त गुरुङ, सुरेन्द्र थपलिया, तुंगभद्र भुषाल लगायतका नेता समेत ओली पक्षमै रहेको पाइएको छ । 

पूर्व माओवादी धेरै प्रचण्ड-नेपालतिर, केही खुल्न बाँकी

बेलायतमा ओली वा प्रचण्ड नेपालमध्ये कुन समूहको पल्ला भारी हुने विषय अब पूर्व माओवादीका ‘कमरेड’ हरुमै भर पर्ने देखिएको छ ।

पूर्व माओवादीका धेरै प्रचण्ड-नेपाल पक्षमै छन्    तर ओलीका समर्थक पूर्व एमाले ‘कमरेड’ हरुले दाबी गरेझैं केही पूर्व माओवादीहरु ओलीकै पक्षमा उभिए भने बेलायतमा उनीहरुकै बहुमत हुने देखिएको छ । 

पूर्व माओवादीका एक प्रभावशाली नेता बादल ओली समूहमा गएपछि उनीनिकट ठानिएका बेलायतका केही पूर्व माओवादी नेताहरुले पनि ओली समूहकै साथ दिने आँकलन गरिएको छ । 

कर्ण शाही, विनोद ज्ञवाली, महेन्द्र कंडेल, रण केसी लगायतको समूह अहिलेसम्म स्पष्ट नखुलेपनि आफ्नै समूहसंग मिल्ने आशा बेलायतको ओली समूहले गरेको छ । 

तर उनीहरु पनि प्रचण्ड-माधव समूहमै लागे भने सोही समूहको समेत बहुमत बन्न सक्ने देखिन्छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू