बिहीबार, चैत १५, २०८०
09:53 | १५:३८

मन्त्रिपरिषद् विस्तार: कोही नयाँ कोही पुराना

रासस डिसेम्बर २५, २०२०

राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार साँझ नवनियुक्त मन्त्रीहरु शपथ ग्रहणपछि । साथमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत । तस्वीर- प्रदीपराज वन्त, रासस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिपरिषद्मा अधिकांश नयाँ अनुहार समेटिएका छन् । केही मन्त्री भने यसअघि पनि राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका टोपबहादुर रायमाझीले यसअघि पनि उपप्रधानमन्त्रीसहित सोही मन्त्रालय सम्हालेका थिए । संविधान निर्माण लगत्तै विसं २०७२ मा वर्तमान प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा रायमाझीले सो मन्त्रालय सम्हाल्दा ऊर्जा, सङ्कटकालीन कार्ययोजना ल्याएर नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा नयाँ आयामको शुरुआत गरेका थिए । कूल ९९ बुँदे सो कार्ययोजनाको आधारमा नै विद्युतभार कटौतीलगायतका योजना अगाडि बढेका थिए । विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा अर्घाखाँचीबाट ५० हजार ८३७ मतसहित निर्वाचित भएका रायमाझीले दोस्रो पटक ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका हुन् ।

शहरी विकास मन्त्रालयमा प्रभु साहको पनि दोस्रो कार्यकाल हो । तीन पटक सांसद र संसदीय समितिको सभापति रहिसकेका साहले यसअघि नै कानून न्याय तथा संसदीय मामिला, भूमिसुधार र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । खानेपानी मन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका मणिचन्द्र थापा पहिलो पटक राजकीय जिम्मेवारीमा आएका हुन् । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा गीत सङ्गीतमार्फत योगदान गरेका नेता थापा नेकपा भित्र बौद्धिक नेताका रुपमा चिनिन्छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी पनि दोस्रो पटक मन्त्री बनेका छन् । यसअघि उनले कृषि विकास मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाको सांसद थिए । दार्चुलाबाट राष्ट्रिय राजनीतिमा स्थापित भएका ठगुन्नालाई कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्रको राम्रो ज्ञान छ ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले पनि नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद हुन् । डोटी जिल्लाबाट प्रतिनिधित्व गर्ने आलेलाई नेकपाभित्र निडर नेताका रुपमा लिइन्छ । विसं २०७४ को निर्वाचनमा नवनियुक्त मन्त्री आलेले ३२ हजार ५१० मत प्राप्त गरी विजयी भएका थिए ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो पनि पहिलो पटक राजकीय जिम्मेवारी सम्हाल्न लागेकी हुन् । त्यस्तै युवा तथा खेलकूद मन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका दावा लामा पनि पहिलो पटक मन्त्रिपरिषद्मा समेटिएका छन् । विसं २०६४ को संविधानसभा सदस्य रहेका लामा २०७४ मा भएको प्रदेशसभा सदस्यको निर्वाचनमा भने पराजित भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू