शनिबार, वैशाख १५, २०८१
01:40 | ०६:२५

स्वीण्डनका नेपालीले क्रिसमसमा बाँडे बेलायती ‘होमलेस’ लाई खाना र उपहार

नेपाली लिङ्क डिसेम्बर २५, २०२०


लण्डन । क्रिसमसको अवसरमा बेलायतको एक नेपाली संस्थाले सडकमै जीवन बिताइरहेका करिब ५० जना ‘होमलेस’ (घरबिहीन) बेलायतीलाई निशुल्क खाना वितरण गरेको छ ।

स्वीण्डन क्षेत्रका नेपालीहरुको संस्था ‘नेप्लिज एशोसिएसन अफ वील्शायर’ ले शुक्रबार उनीहरुलाई खानासंगै क्रिसमसको उपहार समेत बाँडेको हो ।

स्वीण्डनको टाउन सेन्टर नजिकै अवस्थित ‘कर्भली कोर्ट स्यान्कचुएरी’ नामक होमलेस सेल्टरमा पुगेर खाना र उपहार वितरण गरिएको संस्थाका अध्यक्ष ज्ञानप्रसाद गुरुङले नेपाली लिंकलाई जानकारी दिए ।

‘सबैले आफ्नै घरपरिवारसंग रमाइलो गरी पर्व मनाइरहेका हुन्छन् । तर सडकमै दिनरात काट्ने घरपरिवारबिहीनहरु भने आजको दिन पनि एक्लै सडकमा भौतारिरहेका छन्’, अध्यक्ष गुरुङले भने, ‘कमसेकम आज पर्वको एक दिन भएपनि उनीहरुप्रति प्रेम र सम्मान दर्शाउने कोशिस हामीले गरेका हौं ।’

नेपाली समाजले क्रिसमसकै दिन पारेर बाँडेको खाना र उपहार पाउँदा स्थानीय होमलेसहरु दंग परेका थिए । वर्षकै ठूलो पर्वका दिन आफूहरुलाई सम्झिएकोमा उनीहरुले आभार प्रकट गरेका थिए ।

स्वीण्डनस्थित ‘याक द हिमालयन किचन’ संगको सहकार्यमा समाजले खाना वितरण गरेको हो । जसको संयोजन संस्थाका सचिव भवानीप्रसाद गुरुङले गरेका थिए ।

खाना वितरणमा समाजकी महिला संयोजक तिजु गुरुङ, सल्लाहकार टंक राई, कोषाध्यक्ष रुपेश राई लगायतको सहभागिता थियो ।



प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू