शुक्रबार, वैशाख ७, २०८१
05:33 | १०:१८

गैरपत्रकारलाई सदस्यता त्याग्न अपील गर्दै मोक्तानले छाडे एफएनजे यूके

नेपाली लिङ्क डिसेम्बर २४, २०२०


लण्डन । बेलायतको नेपाली समुदायका एक स्थापित अभियन्ता उमेशराज मोक्तानले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन् ।

महासंघको बेलायत शाखाको सदस्यता लिएका उनले बिहीबार शाखालाई इमेलमार्फत पत्र पठाएर स्वेच्छिक रुपमा सदस्यता परित्याग गरेको जानकारी गराएका छन् । 

बेलायतको सबैभन्दा पुरानो नेपाली संस्था यती नेपाली एशोसिएसनका पूर्व अध्यक्ष मोक्तान विगतमा एक दशकभन्दा लामो समय बेलायतबाट सञ्चालित एभरेष्ट टाइम्स साप्ताहिकको सञ्चालक समूहमा सदस्य थिए ।

‘एभरेष्ट टाइम्समा रहँदा बेलामौकामा लेख रचना लेख्ने गर्थे । बेलायतमा स्थापना हुन लागेको पत्रकार महासंघको शाखालाई हौसला दिनकै लागि शुरुमा सदस्यता लिएँ’, नेपाली लिँकसँग मोक्तानले भने, ‘प्राविधिक रुपमा योग्य भएकै भरमा अरुले पनि सदस्यता लिने क्रम बढ्दा अहिले शाखामा गैर पत्रकारहरुको संख्या धेरै भयो जस्तो लागेर बाहिरिने निर्णय गरेको हुं ।’

शाखाले शुरु गरेको शुद्धीकरण अभियानमा ऐक्यबद्धता जनाउंदै उनले शाखाको सदस्यता लिएका तर पत्रकारितामा क्रियाशिल नरहने अरुलाई पनि स्वेच्छिक बहिर्गमनका लागि आव्हान गरेका छन् । 

‘शाखा नयाँ थियो । धेरै सदस्य थिएनन् । हामी पनि आबद्ध भएर सक्दो सहयोग गरयौं’, उनले भनेका छन्, ‘अहिले अवस्था फेरिएको छ । शाखा स्थापित भइसकेको छ । पत्रकारितामै सक्रिय पत्रकारहरु पनि धेरै छन् । अब हामी गैरपत्रकारहरुले  बाहिरबाटै सहयोग गरौं ।’ 

पत्रकार महासंघको बेलायत शाखामा अहिले झन्डै सय सदस्य छन् ।  शाखाले ‘शुद्धीकरण अभियान’ अन्तर्गत अहिले पत्रकारितामा सक्रिय नरहने सदस्यहरुलाई बिदाई गर्ने तयारी गरेको छ ।  

मोक्तानले एफएनजे यूकेलाई पठाएको सदस्यता परित्यागको जानकारी-



प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू