सोमबार, मंसिर २०, २०७८
08:36 | १४:२१

यूकेका नेपाली वैज्ञानिकले उजागर गरे नयां कोरोना भाइरस तथ्य

नेपाली लिङ्क डिसेम्बर २३, २०२०

लन्डन । बेलायतमा कोरोना भाइरसले नयां स्वरुप बदलेर संक्रमण तीव्र फैलिएसंगै अहिले सर्वत्र चासो र चिन्ता बढेको छ । विश्वका ५० भन्दा बढी देशले बेलायतबाट जाने उडानमा रोक लगाएका छन् ।

छिमेकी फ्रान्सले सीमा बन्द गरिदिएका कारण झण्डै तीन हजार लरी (ट्रक) सीमामा रोकिन वाध्य भए । खाद्यान्नकै हाहाकार हुने चिन्ताबीच बेलायत र फ्रान्सेली अधिकारीहरुबीचको वार्तापछि 
फ्रान्सले बुधबारदेखि कोभिड नेगेटिभ रिजल्ट हुनेलाई प्रवेश अनुमति दिन सहमति जनाएको छ ।

खासमा कोरोना भाइरसको नयां प्रजाति के हो ? यो घातक छ वा छैन् ? आदिबारे बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयमा वरिष्ठ वैज्ञानिकको रुपमा काम गरिसकेका हाल बेलायतको कोभेन्ट्री विश्वविद्यालयमा एपेडिमिअलजी तथा हेल्थ केयर रिसर्च विषयका एसोसियट प्रोफेसर डा. ओम कुर्मीसंग गरिएको कुराकानीको सारांश ।

चीनको वुहानमा शुरुमा देखिएको कोभिड १९ भाइरस अहिलेसम्म धेरैपटक म्यूटेसन भएर अथवा त्यसको गुणहरुमा धेरै परिवर्तन भएर नयां स्टे्रनहरु बनिसकेको अवस्था छ । चीनको वुहानमा गत डिसेम्बर महिनामा शुरुवातमा एल स्टे्रन देखापरेको थियो । त्यो एल स्ट्रेन भाइरस एसिया महादेशमा 
धेरै समयसम्म रह्यो । किनभने एसियाका धेरै देशहरु आआफ्ना सीमाहरु छिट्टै बन्दे गरेर आवतजावतमा बन्देज लगाए । त्यो एल स्ट्रन भाइरस २०२० को शुरुवातमा एस स्ट्रेनमा परिवर्तन भयो र त्यसपछि भी र जी स्ट्रेनमा बन्न पुग्यो । युरोप र उत्तरी अमेरिकामा सबैभन्दा बढी जी स्ट्रेन पाइएको छ । युरोपका देशहरु आ आफ्ना बोर्डर बन्द गर्न ढिलाइ गरे र यो भाइरस युरोपका विभिन्न देशमा फैलिन पुग्यो र त्यसका साथसाथै अरु विभिन्न स्ट्रेनहरु जस्तै जिआर, जिएच, जीबी देखा परयो । त्यस्तै अलिक कम म्यूटेशन हुने कोभिड १९ भाइरसको समूहलाई ओ स्ट्रेनमा राखियो । हाल केही हप्तादेखि धेरै चर्चामा रहेको भाइरस भियूआइ—२०२०१२—०१ हो । यो यूकेको लन्डन र दक्षिण पूर्वी इंग्ल्याण्डमा बढी देखिएको छ । हाल आएर यो यूकेका अरु भाग वेल्स् र स्कटल्याण्डमा पनि छिटपुट रुपमा देखिएको छ । यो पत्ता लगाउन होल जीनम सिक्वेन्सीङ विधि अपनाउनुपर्ने हुन्छ जुन यूकेमा धेरै विकसित छ । वैज्ञानिकहरुले यो स्ट्रेन अरु देशहरुमा पनि भएको अनुमान लगाएका छन् । जस्तै नेदरल्याण्ड्स, डेनमार्क, साउथ अफ्रिकामा पहिले देखिएको छ । अरु देशमा नदेखिनुको कारण होल जीनम सिक्वेन्सीङ विधि त्यति विकसित नभएको हुन सक्छ । शुरुमा यो सेप्टेम्बरमा एकजना बिरामीमा देखियो । जसको पुष्टि अक्टोबरमा भयो । वैज्ञानिकहरु यूकेमा देशव्यापी लकडाउन गरेतापनि केन्ट शहरमा संक्रमण हुने बिरामीमा कमी नआएपछि सशंकित भए र गहिरिएर अध्ययन गरेपछि हाल पत्ता लागेको भाइरसको प्रजाति मुख्य कारण रहेको ठम्याए र ११ डिसेम्बरमा यूकेको सरकारलाई सूचित गरे ।

हालसम्मको अध्ययनले यो भाइरस पहिलाको भन्दा लगभग ७० प्रतिशत छिटो फैलिएको भेटिएको छ । हाल लन्डन र दक्षिण पूर्वी इंग्ल्याण्डमा कोभिड लागेको ४५ देखि ७० प्रतिशत बिरामीमा यो स्ट्रेन भाइरस देखिएको छ । तर, केही खुशीको कुरा भन्नुपर्दा यो स्ट्रेनको संक्रमण तीव्र भएपनि यसले पहिलाको स्ट्रेन भएको व्यक्ति भन्दा बढी असर अर्थात धेरै हस्पिटलमा भर्ना हुनुपर्ने वा बढी मृत्युदर जस्तो केही देखिएको छैन् ।

अहिले बजारमा आएको भ्याक्सिनले यो स्ट्रेनमा काम गर्छ कि 
गर्दैन भन्ने चासो सर्वत्र पाइएको छ ।

सामान्तया जति पनि भ्याक्सिन बनिरहेका छन् वा अन्तिम परीक्षणम छन्, तिनले नयां स्टे्रनमा पनि काम गर्ने सम्भावना छ तर यकिनकासाथ भन्न सकिन्न । वैज्ञानिकहरु यसमा काम गरिरहेका छन् र यसको नतिजा आउन ३-४ हप्ता लाग्न सक्छ । बितेको एक दुईदिन भित्र भ्याक्सिन बनाउने निर्माताहरु र विज्ञहरुले यो 
स्ट्रेनमा पनि काम गर्नेमा धेरै आशावादी रहेको बताएका छन् ।

केही वैज्ञानिकहरुले जाडो याममा कोभिड १९ संक्रमण बढ्न सक्छ भनेर अनुमान लगाएका छन् । हामीलाई सर्वविदितै छ कि जाडो याममा धेरै किसिमका स्वासप्रश्वास सम्बन्धि भाइरसहरु जस्तै इन्फ्लुएन्जा भाइरस, फ्लु भाइरस अथवा अरु प्रजातिका कोरोना भाइरसहरु डिसेम्बर र जनवरीमा बढी देखिएको हुन्छ । तर, कोभिड १९ रोगको भाइरस बढ्छ भनेर केही समय कुर्नु पर्ने नै हुन्छ ।

हालको तथ्यांकले युरोप र नर्थ अमेरिकामा कोभिड १९ बढेको देखिन्छ भने भारत जस्ता देशमा कोभिड १९ संक्रमण लगातार कमी भएको देखिएको छ । केही अध्ययनहरुले के देखाएको छ भने जाडो याममा कोभिड १९ को संक्रमण बढ्नु वा घट्नुमा धेरै कुराले असर पार्दछ । जस्तै मानिसको व्यवहार र भाइरसको गुणले पनि यसमा फरक पार्दछ । जाडो याममा युभी लाइटको कमी हुन्छ । मानिसहरु घरभित्र समूहमा बस्ने गर्छन् । वायू प्रदुषण र सुख्खा बढी हुन्छ । जलवायू परिवर्तनले पनि भाइरसको वृद्धिमा मद्यत गर्छ ।

विकसित मुलुकहरु बेलायत र अमेरिकामा आपतकालिन अनुमति प्राप्त गरि दुई भ्याक्सिनहरु केही वर्ग जस्तै स्वास्थ्यकर्मी र ८० वर्षमाथिका लागि दिन शुरु गरिसकेका छन् । तर, हाम्रो देश नेपालमा यी भ्याक्सिनहरु उपलब्ध हुन अझै समय लाग्न सक्छ । हाम्रो देशमा भौतिक संरचना पनि यी भ्याक्सिन दिनलाई अझै अनुकुल छैन् । हामी केही समय पक्कै कुर्नुपर्ने देखिन्छ ।

जबसम्म यी भ्याक्सिन उपलब्ध हुंदैनन्, त्यतिन्जेलसम्म हामीले सावधानी अपनाउनु पर्ने देखिन्छ । सकेसम्म भीडभाडमा नजाने, जानु परेपनि दुई मिटरको दुरी कायम राख्ने, बाहिर जांदा अनिवार्य रुपमा मास्क लगाउने र साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नु नै मुख्य रोकथामका उपाय हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू