बेलायतका नेपाली किशोर किशोरीबीच वक्तृत्वकला प्रतियोगिता हुंदै




विस्तृत विवरण
लन्डन । बेलायतका नेपाली किशोर किशोरीबीच एक वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । सोसाइटी अफ नेपलिज प्रोफेसनल्स् यूकेले आउंदो ३१ डिसेम्बर बिहान ११ बजेदेखि “कोभिड १९ को प्रभाव, यसका चुनौति र अवसरहरु” विषयक प्रतियोगिता गर्न लागेको हो । बेलायतमा रहेका १३ देखि १९ वर्षसम्मका नेपाली किशोर किशोरीले प्रतियोगितामा भाग लिन पाउनेछन् ।
सहभागीहरुले तीन मिनेट भित्र अंग्रेजी वा नेपाली भाषामा आफ्नो भनाइहरु राख्न सक्ने छन् । प्रतियोगितामा पहिलो हुनेलाई २००, दोश्रोलाई १५० र तेश्रो हुनेलाई १०० पाउण्ड नगद र सर्टिफिकेट प्रदान गरिने संस्थाले जनाएको छ ।
“बेलायतमा हुर्की रहेका हाम्रा किशोर, किशोरीहरुको व्यक्तित्व विकास, एक आपसमा चिनजान तथा कोभिड १९ जस्तो अहिलेको जल्दोबल्दो विषयलाई उनीहरुले कसरी हेरिरहेका छन् भन्ने थाहा पाउने उद्देश्यले हामीले यो प्रतियोगिता आयोजना गर्न लागेका हौं,“सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेका नव निर्वाचित अध्यक्ष माधव पराजुलीले भने । उनले आफ्ना नानीहरुलाई उक्त प्रतियोगितामा भाग लिन प्रोत्साहित गर्न बेलायतस्थित सबै नेपाली अभिभावकलाई आग्रह पनि गरेका छन् ।