बिहीबार, वैशाख १३, २०८१
18:02 | २२:४७

कुसाङ गुरुङलाई ‘आदर्श तमु अवार्ड’

नेपाली लिङ्क डिसेम्बर २१, २०२०

लण्डन । यस वर्षको ‘आदर्श तमु अवार्ड’ सहारा यूके उपाध्यक्ष कुसाङ गुरुङले पाएका छन् । तमु धिं यूकेले हरेक वर्ष दिँदै आएको यो अवार्ड यसपटक समाजसेवी एवम् किर्तिमानी धावक समेत रहेका कुसाङलाई प्रदान गरिएको हो ।  

तमु धिं यूकेको आइतबार सम्पन्न अधिवेशनका क्रममा गुरुङलाई ‘तमु आदर्श अवार्ड २०२०’ बाट सम्मानित गरिएको छ । संस्थाका तर्फबाट अध्यक्ष नन्दजंग गुरुङले दोसल्ला ओढाएर सम्मानपत्रसहित उनलाई सम्मान गरेका थिए ।  

विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर समुदायको लागि पुर्‍याउँदै आएको योगदानको कदरस्वरुप गुरुङलाई यो अवार्डबाट सम्मानित गरिएको हो ।  

आदर्श तमु अवार्डको सम्मान विगतमा मेजर रि डमर घले, लेफ्टिनेन्ट रि चन्द्रबहादुर गुरुङ, एकेन्द्र गुरुङ, डेभिड गुरुङ लगायत बेलायतको नेपाली समुदायका प्रभावशाली व्यक्तित्वहरुले प्राप्त गरिसकेका छन् ।  

पर्वतको फलेवास नगरपालिकास्थित ठानामौला घर भएका कुसाङ ब्रिटिश गोर्खा सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट हुन् । २४ वर्ष सेनामै रहँदा एक दर्जन म्याराथन दौडिएका उनले करिब दुई दर्जन हाफ म्याराथन पूरा गरेका छन् । 

मलेसियामा आयोजना हुने ‘किनाबलु म्याराथन’ मा सन् १९९१ देखि १९९३ सम्मका लगातार तीन संस्करण जितेर उनले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा आफ्नो नाम समेत लेखाएका छन् । अवकाशप्राप्त जीवनमा दौडका साथसाथै सामाजिक कार्यहरुमा पनि उत्तिकै क्रियाशिल रहंदै आएका छन् कुसाङ ।  

रहनमे समाज यूकेमा अध्यक्ष  र सहारा यूकेमा उपाध्यक्ष रहेका उनी एनआरएनए यूके, तमु धिं यूके लगायतका थुप्रै संघसंस्थामा सल्लाहकारको भूमिकामा छन् ।  

तमु धिं यूकेले प्रदान गर्ने प्रतिष्ठित आदर्श तमु अवार्डका लागि आफूलाई योग्य ठानिएकोमा गुरुङले आभार प्रकट गरेका छन् ।  

‘मेरो कामको मुल्यांकन गरी मलाई यो सम्मानको लागि नोमिनेट गर्नुभएकोमा म तमु धिं यूकेको निवर्तमान अध्यक्ष र कार्यसमितिप्रति धन्यवाद व्यक्त गर्दछु’, उनले नेपाली लिँकसँग भने, ‘यो अवार्डबाट मलाई समाजको लागि अझै बढी योगदान गर्ने हौसला मिलेको महसुश भएको छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू