शुक्रबार, वैशाख १४, २०८१
00:43 | ०५:२८

संक्रमण बढेपछि बेलायत फेरि ‘सेमीलकडाउन’ मा

नेपाली लिङ्क डिसेम्बर २०, २०२०


लण्डन । कोरोना भाइरस संक्रमण लगातार बढ्दै गएपछि बेलायत फेरि सेमी लकडाउनमा गएको छ । बेलायतका चार राज्यमध्ये वेल्स र नर्दन आयरल्याण्डमा देशव्यापी लकडाउन नै हुंदैछ भने स्कटल्याण्ड र इंग्ल्याण्डमा लकडाउनमै जस्तै कडा प्रतिवन्धहरु घोषणा गरिएको छ । 

राजधानी लण्डनसहित दक्षिणी र पूर्वी इंग्ल्याण्डका कयौं क्षेत्रहरुमा आइतबारदेखि टिएर ४ प्रतिवन्धहरु लागू भएका छन् । 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार अपरान्ह विशेष सम्बोधनमार्फत् यसअघि देशव्यापी रुपमा कार्यान्वयनमा रहेका तीन तहका प्रतिवन्धभन्दा झनै कडा चौंथो तहको प्रतिवन्ध घोषणा गरेका हुन् । 

गत मार्च र नोभेम्बर महिनामा दुई चरणमा गरी साढे तीन महिनाको लकडाउन खेपिसकेको इंग्ल्याण्डमा अहिले घोषित टिएर ४ का प्रतिवन्ध पनि लकडाउनकै समान छन् ।  

प्रधानमन्त्री जोन्सनको घोषणापछि टियर ४ मा परेका लण्डनसहितका क्षेत्रहरुमा अत्यावश्यक बाहेकका सबै सेवा तथा व्यवसाय आइतबारदेखि नै बन्द भएका छन् । यी क्षेत्रमा अब आफ्नो घरबाहिरका एक जना सदस्यसंग ‘आउटडोर’ रुपमा मात्रै भेट गर्न सकिनेछ । रेष्टुरेन्ट, पब, बार, हेयर ड्रेसर, जीमखाना आदि बन्द रहनेछन् । औषधि र खानासहितका अत्यावश्यक सामग्री बिक्री गर्ने बाहेक अन्य सबै स्टोर बन्द हुनेछन् । अत्यन्त जरुरी बाहेकका अवस्थामा घरभित्रै बस्न स्टे होम को अपील जारी गरिएको छ । टिएर ४ लागू रहेका क्षेत्र र अन्यत्रबीचको यात्रामा रोक लगाइएको छ । 

संक्रमण तीव्र फैलिरहेको कारण देखाउँदै प्रधानमन्त्री जोन्सनले क्रिसमसका लागि पूर्वघोषित लचकता पनि फिर्ता लिइएको घोषणा गरेका छन् । क्रिसमसका अवसरमा ५ दिनलाई छुट दिने भनिएको तीन परिवारसम्मको जमघट पनि अब गर्न नपाइने भएको छ । टियर ४ बाहेकका क्षेत्रमा क्रिसमसको एक दिन मात्रै उक्त छुट दिइनेछ । 

२ हप्ताको लागि घोषित प्रतिवन्धहरुबारे डिसेम्बर ३० मा समीक्षा गरिने बताइएको छ । 

इंग्ल्याण्डजस्तै बेलायतका अन्य तीन राज्य स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डमा पनि प्रतिवन्धहरु कडा पारिएको छ । वेल्समा आइतबारदेखि नै देशव्यापी लकडाउन शुरु भएको छ भने नर्दन आयरल्याण्डमा अर्को सातादेखि लकडाउन गर्ने घोषणा भइसकेको छ । स्कटल्याण्डकी फस्ट मिनिस्टर निकोला स्टर्जनले पनि डिसेम्बर २६ देखि तीन सातासम्म अत्यावश्यकबाहेकका सबै क्षेत्र बन्द राख्ने घोषणा गरिसकेकी छन् । 

पछिल्ला दिनहरुमा बेलायतमा निकै तीव्र गतिमा फैलिने नयाँ स्वरुपको कोरोना भाइरस देखिएको यहाँका वैज्ञानिकहरुले बताएका छन् । सरकारले लागू गरेका कडा प्रतिवन्धहरुका बाबजुद संक्रमणको दर बढिरहेको तथ्यांकले देखाएको छ । जसले गर्दा दुई साता पहिले आम मानिसहरुमा शुरु गरिएको कोभिड खोप वितरणले जगाएको आशा समेत अहिले ओझेलमा परेजस्तै भएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू