शनिबार, वैशाख ८, २०८१
06:46 | ११:३१

विदेशमा रहेका युवालाई सीप लिएर नेपाल फर्कन मन्त्रीको अपिल

नेपाली लिङ्क डिसेम्बर २०, २०२०


लन्डन । गैर आवसीय नेपाली संघ यूकेको नेतृत्वमा नेपाल पत्रकार महासंघ युरोप र एनआरएनए एनसीसी आयरल्याण्ड, डेनमार्क, अष्ट्रिया र स्पेनले सामाजिक जागरण तथा मानवीय सहयोग क्रियाकलापमा हातेमालो गर्दै शनिबार संयुक्त्त रूपमा भर्चुअल कार्यक्रम आयोजना गरेका छन् ।

‘गैरआवासीय युवाको पहिचान, राष्ट्र निर्माणमा युवा अभियान’ भन्ने नारा सहितको उक्त कार्यक्रमका प्रमुख अतिथि थिए युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा । कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्त र युवा संयोजक हिमाल गुरुङको पनि सहभागिता थियो  ।

प्रमुख अतिथि मन्त्री विश्वकर्माले नयाँ नेपाल निर्माणमा युवाहरुको सहभागिता अपरिहार्य रहेको भन्दै युवाहरुलाई आफ्नो सिप र ज्ञान बोकेर मातृभूमि फर्कन आग्रह गरे । साथै नेपाल सरकारले युवाहरुका लागि अवसर श्रृजना गरेको पनि मन्त्रीले बताए ।

कार्यक्रमको प्यानलिष्टमा रहेका नेपालका चर्चित सामाजिक अभियन्ता रमेश प्रसाईं, ब्लाइण्ड रक्सकी संस्थापक श्रृष्टि केसी र डेनमार्कबाट कलरफुल स्याडोजकी संस्थापक अनुजा गौतमले आफ्ना विचार तथा क्रियाकलापबारे उल्लेख गरेका थिए । प्राविधिक समस्याले गर्दा प्रसाईको धारणा भने समावेश हुन सकेन ।

महिला भएकै कारण र त्यसमा पनि अपाङ्ग हुनुपरेको अवस्थामा समाजले हेर्ने दृष्टिकोण बदल्नुपर्ने र राज्यले आत्मनिर्भर, काम र शिक्षामा समान अवसर दिइनुपर्ने भन्दै अनुजा गौतमले दृष्टिबिहीन भएकै कारण विभिन्न स्थानमा भोगेको तीतो अनुभव सुनाएकी थिइन् । एनआरएनको युरोपियन भेलाबाट पाएको माया, सहयोग र समर्थनको प्रशंसा गर्दै उनले सबैको सानो त्याग र सहयोगले नेत्रहीन समुदायमा ठूलो प्रेरणा मिल्ने बताइन् ।

चुनौती, अवसर र परिवर्तनले युवालाई अघि बढ्न सहयोग पुग्ने बताउंदै युवाहरुलाई मन मुटुदेखि नै सपना देख्न ब्लाइन्ड रक्सकी सृष्टि केसीले आग्रह गरिन् । समुन्द्रमा एक थोपा पानी बिलाएर जाने तर पातमा राख्दा त्यसैले चमक दिने भएकाले सकारात्मक सोच राख्नुपर्ने सृष्टिले बताइन् ।

कलरफुल स्याडोजको प्रोजेक्टका लागि आर्थिक सहयोग संकलन गर्ने कार्यक्रमको लक्ष्य रहेको बताइएको छ । कबोल गरिएको रकम डिसेम्बर २५ तारिखभित्र एनआरएन एनसीसी डेनमार्कको खातामा जम्मा गरिने बताइएको छ । कार्यक्रममा ५ वटै एनसीसीका पदाधिकारीहरु र अन्य सामाजिक अभियान्ताहरुको सहभागिता थियो ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा संम्पन्न उक्त कार्यक्रममा एनसीसी आयरल्यान्डका अध्यक्ष मिलन छन्त्यालले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम सञ्चालन अष्ट्रियाका युवा संयोजक दिनेश वैद्यबारले गरेका थिए । सो अवसरमा युरोप, अमेरिका, मध्यपूर्ब– एसिया प्यासेफिक क्षेत्रका विभिन्न देशका एनसीसी अध्यक्ष लगायत अग्रज एनआरएनकर्मी तथा पत्रकारहरुको सहभागिता थियो ।

एनसीसीहरुको पहलमा हुने यस्ता क्रियाकलापले भावी दिनमा अन्य एनसीसीहरुलाई पनि अभिप्रेरित गर्नुका साथै युवाहरुले पनि साझा मुद्दाहरुमा कसरी एकजुट हुन सकिन्छ भन्ने प्रयोगको रुपमा यस कार्यक्रमलाई लिइएको एनआरएनए आइसीसी सदस्य रामशरण सिम्खडाले बताए । युवाहरुद्वारा आयोजित यस्ता कार्यक्रमले सामाजिक अभियानमा ठूलो भूमिका रहने सहभागीहरुको धारणा छ ।

कार्यक्रममा एनआरएन आइसीसी केन्द्रीय अध्यक्ष कुमार पन्त, नर्डिक रिजनका राजदूत युवनाथ लम्साल, एनआरएन आइसीसी युवा संयोजक हिमाल गुरुङ, पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई लगायतले शुभकामना मन्तव्य राखेका थिए  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू