सोमबार, वैशाख २४, २०८१
11:35 | १६:२०

लण्डनमा टियर ४ प्रतिवन्ध घोषणा, अत्यावश्यक सेवाबाहेक सबै बन्द गरिने

क्रिसमसमा पनि प्रतिवन्ध खुकुलो नहुने

नेपाली लिङ्क डिसेम्बर १९, २०२०

लण्डन । लण्डनसहित इंग्ल्याण्डका विभिन्न क्षेत्रमा कोरोना संक्रमण रोक्ने प्रयासमा थप कडा प्रतिवन्धहरु लगाइने भएको छ ।  

संक्रमण बढ्दै गइरहेको अवस्थामा प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार विशेष सम्बोधनमार्फत् साउथ तथा इष्ट इंग्ल्याण्डमा ‘टिएर ४’ प्रतिवन्ध लगाउने घोषणा गरेका छन्  ।

यसअघि विभिन्न ३ टिएरमा राखेर क्षेत्रगत रुपमा प्रतिवन्धहरु लागू गरिएकोमा संक्रमण बढ्दै गएपछि थप कडा प्रतिवन्धसहितको टिएर ४ लागू गर्न लागिएको हो ।  

डिसेम्बर २० आइतबारदेखि २ साताको लागि लागू हुने गरी घोषित टिएर ४ प्रतिवन्धअन्तर्गत अत्यावश्यक बाहेकका सबै पसलहरु बन्द रहनेछन् ।  अहिले खुला रहेका कपडा पसल, इन्डोर जीमखाना, हेयर ड्रेसर लगायतका व्यवसाय बन्द हुनेछन् ।  

सर्वसाधारणलाई अत्यावश्यकबाहेकका अवस्थामा घरभित्रै रहन ‘स्टे होम’ को अपील जारी गरिएको छ ।  

यसअघि क्रिसमसका अवसरमा दिने भनिएको ३ परिवारसम्म जमघट हुन पाइने छुट पनि स्थगित गरिएको छ । टिएर ४ बाहेकका क्षेत्रमा पनि उक्त छुट पहिला भनिएजस्तो ५ दिनबाट घटाएर क्रिसमसको दिनलाई मात्रै सिमित गरिएको छ ।  

बेलायतमा कोभिड–१९ को नयाँ स्वरूप देखिएको र यो इंग्ल्यान्डमा द्रुत गतिमा फैलिइरहेको छ । बेलायती वैज्ञानिकहरूले भाइरसको नयाँ रूपबारे अध्ययन गरिरहेका छन् । भाइरसले स्वरुप बदलेपछि संक्रमण पनि तीव्र बढिरहेको चिन्ता विज्ञहरुको छ । यद्यपि, यो पहिलेको भन्दा कमजोर वा झन् खतरनाक त्यसबारे भने अध्ययन भइरहेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू