शुक्रबार, चैत १६, २०८०
23:48 | ०५:३३

सहारा यूकेमा कुमार गुरुङ नेतृत्वकै कार्यसमितिको कार्यकाल एक वर्ष थप

नेपाली लिङ्क डिसेम्बर १९, २०२०

लण्डन । बेलायतको एक अग्रणी नेपाली संस्था सहारा यूकेको अधिवेशन शनिबार सम्पन्न भएको छ । ‘भर्चुअल’ माध्यमबाट गरिएको अधिवेशनले कुमार गुरुङको अध्यक्षतामा रहेको वर्तमान कार्यसमितिलाई नै थप एक वर्ष  निरन्तरता दिने निर्णय गरेको छ ।  

कोभिड महामारीका कारण उत्पन्न असहज् र विशेष परिस्थितिलाई ध्यानमा राख्दै वर्तमान कार्यसमितिकै म्याद बढाउने निष्कर्षमा अधिवेशन पुगेको संस्थाका अध्यक्ष कुमार गुरुङले नेपाली लिँकलाई जानकारी दिए । उनका अनुसार एक वर्षपछि अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरिनेछ ।  

यसअघि संस्थाका अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा महासचिव धनु थकाली र कोषाध्यक्ष शारदा गुरुङले प्रस्तुत गरेका वार्षिक एवम् आर्थिक प्रतिवेदन छलफलपछि पारित गरिएको थियो । 

त्यस्तै, पूर्व अध्यक्ष दिलिप गुरुङ (एमबीइ) को संयोजकत्वमा सदस्यहरु कृष्ण गुरुङ र दिलरास गुरुङ रहेको विधान संशोधन समितिका तर्फबाट प्रस्तावित विधान संशोधन प्रस्ताव पनि पारित गरिएको छ ।  

अधिवेशनमा संस्थाको कार्यसमितिका पदाधिकारी, सल्लाहकार, साधारण सदस्य लगायतको सहभागिता थियो । सन् २००८ मा नवीन गुरुङको अध्यक्षतामा स्थापित सहारा यूकेले बेलायत र नेपालमा खेलकुद विकास तथा अन्य सामाजिक क्षेत्रको उत्थानका लागि निरन्तर सहयोग गर्दै आएको छ ।

अध्यक्ष कुमार गुरुङले थप गरिएको एक वर्षको कार्यकाल कोभिड महामारीका कारण पूरा हुन नसकेका कामहरुमा केन्द्रित हुने बताए ।  

‘सहारा यूकेको मुख्य टीमले खेल्दै आएको ह्याम्पशायर मिडवीक लिगमा यो वर्षदेखि जुनियर टीमलाई पनि खेलाउने योजना थियो । त्यस्तै, सहारा यूकेकै संयोजनमा नेपालको राष्ट्रिय टोलीले इंग्ल्याण्डसँग मैत्रीपूर्ण खेल्ने कार्यक्रम थियो’, नेपाली लिँकसँग अध्यक्ष गुरुङले भने, ‘कोभिडका कारण स्थगित यीनै कार्यक्रम हाम्रो पहिलो प्रथामिकतामा रहनेछन् ।’

कुमार नेतृत्वको उक्त कार्यसमितिमा उपाध्यक्ष लेफ्टीनेन्ट रि. कुसाङ गुरुङ, महासचिव धनु थकाली, सचिव बाचस्पति रेग्मी, कोषाध्यक्ष शारदा गुरुङ, सह-कोषाध्यक्ष प्रकाश गुरुङ, सहारा एफसी अध्यक्ष कृष्ण गुरुङ, सहारा एफसी सिइयो, मनोज गुरुङ, खेलकुद सचिव कुमार थापा र युवा खेलकुद संयोजक सन्दिप उपाध्याय छन् ।

त्यसैगरि, सदस्यहरुमा मिलन तमु, एम कुमार गुरुङ, मन्जु गुरुङ राई, सुधा गुरुङ, योगेश गुरुङ, इश्वर गुरुङ, विश्वजंग गुरुङ, गणेश थापा र जगन गुरुङ छन् ।

फाइल तस्बिर- मिलन तमु

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू