बुधबार, वैशाख १२, २०८१
12:44 | १७:२९

युरोपमा क्रिसमस र नयाँ वर्ष मनाउंदा भिडभाड नगर्न आग्रह

रासस-सिन्ह्वा डिसेम्बर १९, २०२०


कोपेनहेगन–विश्व स्वास्थ्य संगठनले युरोपका देशहरुमा आगामी नयाँ वर्षका अवसरमा दिइने विदाको समयमा भिडभाड र कुनै समारोह नगर्न सुझाव दिएको छ । युरोपका देशमा आगामी नयाँ वर्षको अवसरमा विदा मनाउन नागरिकहरु ठूलो संख्यामा उपस्थित हुने र समारोह गर्ने भएकोले त्यसो नगर्न संगठनले आग्रह गरेको हो ।

यदि त्यसो गरिएमा युरोपेली देशहरुमा अहिले पनि महामारी देखिएको र त्यो महामारीले सबैलाई प्रभाव पार्न सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ । विश्व स्वास्थ्य संगठनका युरोप क्षेत्रीय निर्देशक ह्यान्स कलगले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुरा जनाएका हुन् ।

उनले अहिले पनि युरोपका कतिपय देशहरुमा महामारीको दोस्रो लहर आएको र यसले गर्दा मानसिक स्वास्थ्य समस्याको अवस्था देखिएकोले सजगता अपनाउन भनेका छन् । उनले आगामी नयाँ वर्षका अवसरमा युरोपमा पहिलेका वर्षहरुमा जस्तै बिदा मनाउने क्रममा ठूलो संख्यामा उपस्थित हुने र समारोह गर्ने गर्नाले कोरोना भाइरसको महामारी झनै विस्तारित हुनसक्ने बताए ।

युरोपका निर्देशक ह्यान्सले भनेका छन्, युरोपमा पछिल्लो समयमा यो महामारी झनै ठूलो मात्रामा बृद्धि भइरहेकोले अहिले झनै सतर्कता र सजगता अपनाउनुपर्ने आवश्यकता छ ।

उनले युरोपमा मात्र २ करोड ३० लाखभन्दा बढी नागरिक यो महामारीबाट संक्रमित भएका र महामारीका कारण पाँच लाखभन्दा पनि बढी मानिसको ज्यान गएको पनि बताएका छन् ।

उनले यो चिसोको मौसममा युरोपेली देशमा पहिलेको भन्दा अझ बढी सतर्कता अपनाउनुर्ने पनि बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू