शुक्रबार, चैत १६, २०८०
18:20 | ००:०५

बीबीसी मास्टर सेफ उपविजेता सन्तोषलाई देश विदेशबाट बधाईको ओइरो

नेपाली लिङ्क डिसेम्बर १८, २०२०

लन्डन । बिहीबार राति भएको खाना पकाउने विश्व प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा उपविजेता बनेका नेपाली सेफ सन्तोष साहलाई देश विदेशबाट बधाईको ओइरो लागेको छ । बीबीसी वानमा प्रसारित ग्राण्ड फिनालेमा तीनजना सेफबीचको प्रतिस्पर्धामा बेलायतकै २५ वर्षीय आलेक्स वेबले उपाधि जिते पनि सन्तोषको चर्चा चुलिएको छ ।

टप ३ बनेर ग्राण्ड फिनालेमा पुगेका सन्तोषलाई देश विदेशबाट सामाजिक संजालहरुमा धेरैले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले पनि नेपाल र नेपालीको परिचय, पहिचान र प्रतिष्ठालाई अभिवृद्धि गरेको भन्दै सेफ सन्तोषलाई बधाई तथा शुभकामना दिएका छन् ।

राजदूत सुवेदीले भनेका छन्  ‘नेपाली मौलिक खानाको प्रवर्धन गरेर सेफ सन्तोष साहले हजारौं विदेशी तथा स्वदेशीहरुको हृदय जित्न सफल भएका छन् । नेपाल र नेपालीको परिचय, पहिचान र प्रतिष्ठालाई अभिवृद्धि गरेर सम्पूर्ण नेपालको नै पहिचान दिन सफल सन्तोष ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा विजय नभएपनि नेपाल र नेपालीको लागि विजयी सावित भएका छन् ।’

आफूले सन्तोषलाई फोनमार्फत पनि हौसला दिंदै आएको राजदूत सुवेदीले स्मरण गरेका छन् ।

यसैगरी बेलायतस्थित लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानून विषयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी (क्यूसी, ओबिई, डिसिएल एवं नेपाल प्रज्ञा प्रतिष्ठान मानार्थ प्राज्ञ) ले पनि साहलाई बधाई तथा शुभकामना दिंदै यदि सन्तोषले रेष्टुरेन्ट खोले आफू पहिलो दिनको ग्राहक बन्ने इच्छा व्यक्त गरेका छन्   

सुवेदीले भनेका छन् ‘बीबीसीले संचालन गरेको मास्टर सेफको प्रतियोगितामा उप-बिजेता बन्न सफल हुनु भएकोमा सन्तोषजीलाई धेरै बधाई । तपाईं प्रतियोगितामा प्रथम नभए पनि सबै नेपालीका लागि प्रथम हुनु भयो । नेपाल र नेपालीको जसरी अत्यन्तै राम्रो प्रतिनिधित्व गर्नु भयो, त्यसका लागि समेत म हार्दिक बधाई र धन्यवाद दिन चाहन्छु र भविष्यमा सफलताको कामना गर्दछु । यदि आफ्नै रेस्टुरा खोल्नु भयो भने म पहिलो दिनको ग्राहक हुने इच्छा व्यक्त गर्दछु ।’

उता, साहलाई दर्शकले ‘पिपुल्स च्याम्पेन’ को उपाधि दिएका छन् । ३५ वर्षीय सन्तोषले सामाजिक संजालमा निकै ठूलो प्रशंसा बटुल्न सफल भए । उनको बाल्यावस्था र जीवनका संघर्षले धेरै मानिसको मन छुन सफल मात्र भएन, प्रेरणाको स्रोत समेत बन्यो । १२ वर्षको उमेरमा मजदुरी गर्दा आमाले टिफिन बक्समा खाना लिएर आएको स्मरण गर्दै बुधबार रातिको प्रतिस्पर्धामा टिफिन बक्समा नै नेपाली परिकारहरु पस्किएर टप ३ मा पुग्न सफल भएका थिए उनी ।  

आफूले सबैभन्दा बढी माया गर्ने व्यक्तिको लागि खाना बनाउनुपर्ने उक्त एपिसोडमा आफ्नी आमाको लागि समर्पण गर्दै पुरी, भुटेको खुर्सानी र नुन, बासी भात शैलीमा भुटेको चिउरा र गंगटाको ‘करी’ अन्जिर र अदुवा भरेको चिप्ले भिन्डी, आँप र नरिवलको चटनी, आलु, मेथी र अनारको सलाद जस्ता मौलिक नेपाली खाना बनाएका थिए 

हुन त सन्तोषले सामाजिक संजाल र दर्शकको मात्र हैन निर्णायक मण्डलको समेत निरन्तर मन जित्दै आएका थिए । प्रतियोगितामा सन्तोषले गरेका हाउभाउ र उनको हँसमुखले धेरैलाई आकर्षित गरेको थियो । सन्तोष विजय हुनेमा अन्तिम क्षणसम्म पनि धेरैले आशा गरेका थिए ।

तर, उपाधि हात नपारे पनि नेपाली खानालाई संसारभर चिनाउने लक्ष्यमा आफू विजयी भएको सन्तोषले बताएका छन् । उनको एक मात्र ध्यान कसरी नेपाली खानालाई ‘इन्ट्रोड्युस’ गरौं, कसरी ‘प्रमोट’ गरौं भन्ने थियो ।

प्रतिस्पर्धामा जुन चरणसम्म पुगेपनि विश्वका दर्शकमाझ नेपाली खानालाई नोटिस गराउन सकुं भन्ने मात्र लक्ष्य रहेको उनले बताए । भावी दिनहरुमा पनि ओझेल परेको नेपाली खाना प्रवर्द्धनमा लाग्ने उनको धारणा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू