शुक्रबार, चैत १६, २०८०
15:42 | २१:२७

मास्टर सेफको ग्रयाण्ड फिनालेमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै सन्तोष

नेपाली लिङ्क डिसेम्बर १७, २०२०

लण्डन । बिहीबार बेलुका प्रसारण हुने बीबीसी मास्टर सेफको ‘ग्रयाण्ड फिनाले’ मा सन्तोष साहले नेपालको राष्ट्रिय झण्डा फहराउने भएका छन् ।

अन्तरराष्ट्रिय स्तरमै प्रतिष्ठित मास्टर सेफ प्रोफेसनल्सको अन्तिम तीनसम्म छनोट भएका उनले अन्तरराष्ट्रिय स्तरको प्लेटफर्ममा आफ्नो देशको झण्डा फहराउन पाउँदा गौरव महशुस भएको बताएका छन् ।

ग्रयाण्ड फिनाले एपिसोडमा सन्तोष पाल्पाली ढाकाटोपीमा सजिएका देखिनेछन् । यसअघि बुधबार प्रसारित शीर्ष ४ प्रतियोगीबीचको प्रतिस्पर्धामा पनि उनी कालो भादगाउँले टोपीमा देखिएका थिए ।

‘बीबीसी मास्टर सेफलाई मैले कहिल्यै प्रतियोगिता मात्रैको रुपमा लिइन । मेरो लागि त यो नेपाली खाना र नेपाललाई विश्वमाझ चिनाउने अवसर थियो’ , सन्तोषले भने, ‘मास्टर सेफको स्टेजमा नेपाली खाना त छदैंछ, नेपाल र नेपाली चिनाउने मौका पनि मैले खोजिरहेको थिएं । सौभाग्यले फाइनलसम्म आउन पाएं, यही अवसरमा देशको झण्डा देखाउन पाउनु मेरो लागि निकै ठूलो गौरव हो ।’

बिहीबार बेलुका प्रतियोगिताका अन्तिम तीन प्रतिस्पर्धीबीच मास्टर सेफको ट्रफीका लागि भिडन्त हुँदैछ । प्रतियोगिताको शुरुमा तीनै जना प्रतियोगीको पृष्ठभूमि र चिनारी समेटिएको भिडियो क्लिप बजाइनेछ । सोही भिडियो क्लिपमा नेपालको ६ फिट लामो राष्ट्रिय झण्डा देखाउँदैछन् सन्तोष ।

मास्टर सेफको प्लेटफर्मबाट विश्वमाझ नेपाली खाना चिनाएका सन्तोषले नेपाल चिनाउने कुनै अवसरलाई पनि खेर फालेका छैनन् । उनले मास्टर सेफमा पस्किएका हरेक परिकारको नाम नेपालीमै राखेका छन् । आयोजकसंग विशेष अनुरोध गरेरै भएपनि उनी मौलिक नेपाली भादगाउँले र ढाकाटोपी शीरमा सजाएरै प्रतिस्पर्धामा उत्रिएका छन् ।

मास्टर सेफको यात्राका क्रममा संसारभरका नेपालीबाट अपार माया र हौसला पाउँदा सन्तोष निकै उत्साहित छन् । मास्टर सेफ प्रोफेसनल्स् २०२० को ग्रयाण्ड फिनाले बेलायती समयअनुसार बिहीबार बेलुका ९ बजे बीबीसी वानमा प्रसारण हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू