बिहीबार, चैत १५, २०८०
16:44 | २२:२९

बीबीसी मास्टर सेफमा आमाले ख्वाउने खाना पस्कदै मन जिते सन्तोषले

नेपाली लिङ्क डिसेम्बर १७, २०२०


लण्डन । बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूकेको फाइनलमा प्रतिस्पर्धा गरिरहेका छन् नेपाली सेफ सन्तोष साह । 

संसारभरबाट विभिन्न कुइजिनका ३२ सेफहरुको सहभागितामा शुरु भएको प्रतियोगिताको अन्तिम ३ सम्म पुग्न उनी सफल भएका छन् । 

प्रतियोगिताको फाइनल राउण्डको दोस्रो दिनको एपिसोड बुधबार बेलुका बीबीसी वानमा प्रसारण भयो । जसमा सन्तोष नेपाली भादगाउँले टोपीमा सजिएर सहभागी भएका थिए । यही राउण्डबाट अघि बढ्दै उनी  बिहीबार प्रतियोगिताको ट्रफीका लागि हुने अन्तिम प्रतिस्पर्धामा भिड्न छनोट भएका छन् । 

बुधबार प्रतियोगिताको सबैभन्दा महत्वपूर्ण मानिने सेफ्स टेबल राउण्डको पालो थियो । यो राउण्डमा प्रतियोगीहरुले बनाएका खानाका परिकार चाख्न केही निर्णायक मात्र थिएनन्, बेलायतभरबाट कयौं प्रतिष्ठित सेफहरु पनि आमन्त्रित थिए । विगतका वर्षमा धेरै सेफहरु सहभागी हुने यो राउण्डमा यसपटक भने कोरोनाका कारण थोरै सेफको मात्रै सहभागिता थियो । 

‘मास्टरसेफकै सबैभन्दा महत्वपूर्ण राउण्ड मानिन्छ यो एपिसोड । बेलायतभरका मानिएका सेफहरुलाई आफ्नो खाना चखाएर मन जित्नु कठिन काम हो’, नेपाली लिंकसंग सन्तोषले भने, ‘तर मेरो सौभाग्य, मेरो लागि यो राउण्ड निकै राम्रो भयो । सेफहरुबाट मेरो खानाले निकै राम्रो प्रतिक्रिया पायो ।’

मास्टर सेफको यात्रामा बुधबारको एपिसोड नै आफ्नो लागि सबैभन्दा विशेष बनेको सन्तोषको अनुभव छ । महत्वपूर्ण सेफ्स टेबल राउण्डमा उत्साहप्रद प्रतिक्रिया पाएका उनले आफ्नै आमालाई समर्पण गरेर विशेष परिकार पकाउने अवसर समेत पाए । 

आफूले सबैभन्दा धेरै माया गर्ने व्यक्तिको लागि खाना बनाउनुपर्ने राउण्डमा उनले आफ्नी आमाको लागि कहि परिकारहरु बनाए । पुरी, भुटेको खुर्सानी र नुन, बासी भात भुट्ने  शैलीमा भुटेको चिउरा र गंगटाको करी जस्ता परिकार उनले आमालाई समर्पण गरी तयार गरेका थिए । 

‘बाल्यकालमा जब म नहर खन्ने काममा जान्थें, मलाई भोक लाग्ने बेलामा आमाले टिफिनमा खाजा बोकेर आउनुहुन्थ्यो । सुतीको धोतीमा बेरेर पुरीहरु ल्याउनुहुन्थ्यो । आमाको हातबाट बनेका तीनै परिकारको कन्सेप्टलाई लिएर मैले आमालाई डेडिकेट गरी खाना बनाउने कोशिस गरेको हुं’, सन्तोषले सुनाए ।  

खानाको मौलिक ‘फिल’ ल्याउने उद्धेश्यले उनले पृष्ठभूमिमा पानी र चराचुरुंगीको आवाज बजाएका थिए भने टिफिनकै बक्समा राखेर सर्भ गरेका थिए । मास्टरसेफको प्लेटफर्म, आफ्नै आमालाई समर्पित खाना र बाल्यकालकै झल्को दिने गरी आमाले बनाउनेजस्तै परिकारहरु पस्किंदा सन्तोष निकै भावुक बनेका थिए । 

‘मास्टर सेफको यो स्थानसम्म आइपुग्नु मेरो लागि सपना वास्तविकतामा परिणत भएजस्तै हो । अझ मेरी आमाकै लागि खाना बनाउने क्षण मेरो लागि निकै खुशी र इमोसनल थियो । त्यसमाथि यो खानासंगै जोडिएको मेरो बाल्यकाल र त्यो बेलाको हाम्रो अवस्थाको पनि झझल्को आउँदा म बढी भावुक बन्न पुगे’, उनले सुनाए । 

सिरहा कर्जन्हाका सन्तोष बीबीसी मास्टर सेफको स्टेजसम्म आइपुग्दासम्म संघर्षका धेरै कथाहरु बुनिएका छन् । पारिवरिक स्थितिका कारण १५ वर्षको कलिलो उमेरमै भारत भासिन बाध्य बनेका उनको करियर गुजरातमा किचन पोर्टरबाट शुरु भयो । निरन्तरको मेहनत र लगावले पछि भारतकै पाँचतारे होटेलहरुमा सेफसम्मको ठाउँ बनाए । एक दशकअघि बेलायत आइसकेपछि पनि उनले यहाँका प्रतिष्ठित होटेल तथा रेष्टुरेन्टहरुको अनुभव बटुलिसकेका छन् । 

बीबीसी मास्टर सेफमा भाग लिने पहिलो नेपाली सेफ सन्तोषले विश्वमाझ नेपाली खानाको प्रवर्द्धनका  लागि निरन्तर क्रियाशिल रहने अठोट व्यक्त गरेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू