बुधबार, वैशाख १२, २०८१
12:52 | १७:३७

बेलायती प्रधानमन्त्री भारत जाँदा नेपाल पनि भ्रमण गराउन ध्यानाकर्षण

नेपाली लिङ्क डिसेम्बर १७, २०२०


लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आगामी महिना भारत भ्रमण गर्ने निश्चित भएसंगै उनलाई नेपाल पनि निम्त्याउन यहाँको नेपाली समुदायले ध्यानाकर्षण गरेको छ ।

बेलायत नेपाल द्विपक्षीय सम्बन्धको २०४ बर्ष पुग्दा पनि बेलायती प्रधानमन्त्री कसैले हालसम्म नेपाल भ्रमण गरेका छैनन् ।  

बेलायत आउने हरेक नेपाली राजदूतले बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण गराउनु आफ्नो प्रमुख एजेन्डा बताउने गरे पनि यसले मूर्तरुप लिएको छैन् ।  

लण्डन बरो अफ बार्नेटका उपमेयर काउन्सिलर लक्ष गुरुङले बेलायत नेपाल कूटनीतिक सम्बन्ध र गोर्खाहरुको योगदान दुई शताब्दी बढी भइसकेको स्मरण गर्दै नेपाल सरकारका तर्फबाट औपचारिक निमन्त्रणा गर्न अनुरोध गरेका छन् । 

लन्डनस्थित नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको  ध्यानाकर्षण गराउँदै उपमेयर काउन्सिलर लक्ष गुरुङले बेलायती प्रधानमन्त्रीको केही घण्टामात्र भ्रमण भएपनि त्यो एतिहासिक र उपलब्धिमुलक हुने उल्लेख गरेका छन्। पूर्व गोर्खा गुरुङले आफ्नो क्षेत्रका सांसदहरुमार्फत ‘लबी’ गर्ने पनि बताए ।  

लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले यसबारे प्रकृया बढाएको तर जवाफ कस्तो आउँछ अहिले भन्न नसकिने बताइन् ।  

प्रधानमन्त्रीका रूपमा र ब्रेक्जिटपछि बोरिस जोन्सनको भारत भ्रमण पहिलो पटक हुन लागेको हो । जोन्सनको इन्डो प्यासिफिक क्षेत्रसँग निकट हुने अठोट पनि छ । 

बेलायत सरकारले गत मंगलबार प्रमुख रणनीतिक सम्बन्ध थप मजबुत बनाउन उनको भारत भ्रमण हुन लागेको जनाएको थियो जसले बेलायतमा रोजगार र लगानीमा मद्दत गर्ने आशा छ ।  

बेलायतमा ८४२ भारतीय कम्पनी छन् जसको टर्नओभर ४१ दशमलब २ बिलियन पाउन्ड छ । 

भ्रमणका क्रममा बोरिसले आगामी वर्ष बेलायतको आयोजनामा हुने अति विकशित राष्ट्रहरूको समूह (जी–७) सम्मेलनका लागि भारतलाई अतिथि मुलुकका रूपमा सहभागिता जनाउन निमन्त्रणा दिने कार्यक्रम छ । 

अन्तर्राष्ट्रिय अन्तर सरकारी आर्थिक सङ्गठन जी–७ मा सात प्रमुख विकसित देशहरू क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र संयुक्त राज्य अमेरिका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू