शुक्रबार, वैशाख १४, २०८१
22:20 | ०३:०५

सन्तोष मास्टर सेफको टप ३ मा

नेपाली लिङ्क डिसेम्बर १६, २०२०


लण्डन । सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को अन्तिम ३ मा छनोट भएका छन् ।

बीबीसी वानमा बुधबार बेलुका प्रसारित फाइनल राउण्डको दोस्रो दिनको प्रतिस्पर्धाबाट उनी अन्तिम ३ मा छनोट हुन सफल भए ।

अब बिहीबार बेलुका विजेताका लागि हुने अन्तिम चरणको प्रतिस्पर्धामा सन्तोषले अन्य दुई प्रतिस्पर्धीको सामना गर्नेछन् ।

बुधबार विभिन्न दुई चरणमा सन्तोषले परिकारहरु बनाएर देखाएका थिए । आफूले सबैभन्दा माया गर्ने व्यक्तिको लागि खाना बनाउनुपर्ने राउण्डमा उनले आफ्नी आमाका लागि खाना बनाए । जसका लागि पुरी, भुटेको खुर्सानी र नुन, बासी भात शैलीमा भुटेको चिउरा र गंगटाको ‘करी’ उनले तयार गरे ।

भादगाउँले टोपीमा सजिएका उनले बाल्यकालमा आमाले पकाएको खानाबाटै प्रभावित यी परिकारहरु ‘टिफिन बक्स’ मै सर्भ गरेका थिए ।

त्यस्तै, प्रतियोगिताकै सबैभन्दा महत्वपूर्ण मानिने ‘सेफ्स टेबल’ राउण्डमा उनले जिम्बुले मोलेको पोलेको खसीको मासु, रायोको साग, पुदिना पराठा, साँधेको भटमास, क्रिस्पी प्याज लगायतका परिकार पस्किए ।

यी परिकार चाख्न बेलायतभरबाट आएका प्रतिष्ठित सेफहरुले सन्तोषले तयार गरेका परिकारको मुक्तकण्ठले प्रशंसा गरे ।

बीबीसी मास्टर सेफ जस्तो प्रतिष्ठित अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली खाना लिएर जाने सन्तोष पहिलो नेपाली सेफ हुन् । नेपाली खानालाई विश्वबजारमा चिनाउने लक्ष्य बोकेका उनले मास्टर सेफलाई प्रतियोगिताभन्दा बढी अवसरका रुपमा लिएको बताउँदै आएका छन् ।



प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू